जिम्मेवारी सम्हालेको १३ दिनपछि प्रवक्ता खरेलले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले पार्टीको प्रवक्ताको पद तथा गोपनीयताको औपचारिक शपथ लिएका छन्।
रास्वपाले खरेललाई प्रवक्ताको जिम्मेवारी दिएको १३ दिनपछि उनले बिहीबार औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन्। पार्टीको केन्द्रीय समिति बैठकले गत भदौ ५ गते खरेललाई प्रवक्तामा मनोनयन गरेको थियो।
प्रवक्ताको जिम्मेवारी पाएलगत्तै औपचारिक शपथ नलिएका खरेलले भने जिम्मेवारीअनुसारका काम भने सुरु गरिसकेका थिए। देशमा विकसित पछिल्लो राजनीतिक तथा सामाजिक परिस्थिति र विपद्का घटनाक्रमबीच रास्वपाले अघि सारेका धारणा सार्वजनिक गर्ने, सञ्चारमाध्यमसँग समन्वय गर्ने तथा पार्टीका गतिविधिलाई सार्वजनिक बहसमा लैजाने काममा उनी सक्रिय देखिएका थिए।
पार्टीले जिम्मेवारी तोकेपछि औपचारिक प्रक्रियाका लागि लामो समय नपर्खी परिस्थितिअनुसार काममा खटिने र त्यसपछि पद तथा गोपनीयताको शपथ लिने अभ्यास खरेलको हकमा देखिएको छ।
रास्वपा प्रवक्ताका रूपमा जिम्मेवारी सम्हालेपछि खरेलले पछिल्लो समय बाढीपहिरोजस्ता विपद्को उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका विषयमा पार्टीको धारणा सार्वजनिक गर्दै आएका छन्। उनले विपद् व्यवस्थापनमा सरकार एक्लैले मात्र सबै काम गर्न नसक्ने भन्दै उच्चस्तरीय सर्वदलीय संसदीय संयन्त्रमार्फत उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माण अघि बढाउनुपर्ने धारणा पनि सार्वजनिक गरेका छन्।
शपथ ग्रहणपछि खरेलले पदको औपचारिकता पूरा गर्नुभन्दा पनि जिम्मेवारीलाई व्यवहारमा उतार्नु प्राथमिकता रहेको बताएका छन्। देशको परिस्थिति असामान्य रहेको अवस्थामा पार्टीले लिएको अग्रसरता र आफूलाई दिइएको जिम्मेवारीअनुसार काम गर्नु महत्वपूर्ण भएकाले औपचारिक शपथभन्दा कामलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।
‘देशको परिस्थिति र पार्टीले लिएको अग्रसरताअनुसार काम गर्नु अहिलेको महत्वपूर्ण र प्राथमिकताको विषय हो। जिम्मेवारी पाएपछि त्यसअनुसार काम सुरु गरिसकेको थिएँ, आज औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ लिएको हुँ,’ खरेलले भने।
खरेल लामो समय सञ्चार क्षेत्रमा सक्रिय रहेर पत्रकारिता गरेका व्यक्ति हुन्। उनी पछिल्लो समय सुशीला कार्की नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत बनेका थिए। त्यसपछि राजनीतिमा सक्रिय हुँदै रास्वपामा प्रवेश गरेका उनी ललितपुर–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।
रास्वपाले भदौ ५ गतेको केन्द्रीय समिति बैठकबाट खरेलसँगै पार्टीका विभिन्न पदाधिकारी तथा विभागीय जिम्मेवारीसमेत बाँडफाँट गरेको थियो। उक्त बैठकले डा. मनोहर प्रधानलाई कोषाध्यक्ष, बसुमाया तामाङलाई सहकोषाध्यक्ष, पुरुषोत्तम यादवलाई सहमहामन्त्री तथा डा. ननिता यादव र सुरेन्द्र चौधरीलाई सहप्रवक्ताको जिम्मेवारी दिएको थियो।
खरेलको शपथसँगै रास्वपाको प्रवक्ताका रूपमा उनको जिम्मेवारीले अब थप औपचारिकता पाएको छ। तर उनको कार्यशैलीले भने ‘पहिले जिम्मेवारी, त्यसपछि औपचारिकता’ भन्ने सन्देश दिएको छ।
देश राजनीतिक, सामाजिक र विपद्का दृष्टिले संवेदनशील अवस्थामा रहेका बेला पार्टीको सार्वजनिक धारणा स्पष्ट र प्रभावकारी रूपमा सम्प्रेषण गर्ने जिम्मेवारी अब खरेलको काँधमा थप औपचारिक रूपमा आएको छ।

तपाईको प्रतिक्रिया