पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध, सडक खुलाउने काम जारी

गुल्मी । लगातारको वर्षापछि पहिरो खस्दा कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा सडक अवरुद्ध भएको छ। मंगलबार बिहान पहिरो खसेपछि उक्त सडकखण्डमा यातायात आवागमन पूर्णरूपमा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

सडक अवरुद्ध भएपछि कालीगण्डकी करिडोरतर्फको अवस्थाबारे निगरानी तथा सुरक्षा व्यवस्थापनका लागि पूर्तीघाट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा टोली परिचालन गरिएको छ।

प्रहरीका अनुसार सडक विभाग, स्थानीय तह र सुरक्षाकर्मीबीच समन्वय गरी पहिरो हटाउने काम भइरहेको छ। सडकमा खसेको पहिरो पन्छाउन डोजर प्रयोग गरिएको छ। मुख्य राजमार्ग अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधनलाई आवतजावतमा कठिनाइ भएको छ।

पहिरो हटाएर सकेसम्म छिटो सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिका–३ को घुम्तीमा पनि सडक माथिबाट पहिरो खसेर केही समय यातायात अवरुद्ध भएको थियो। उक्त स्थानमा खसेको पहिरो हटाइएपछि अहिले सडक पुनः सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया