भोटेकोसी बाढीपीडितको शव पहिचानमा सहयोग गर्न चीनबाट फरेन्सिक टोली आउँदै

काठमाडौं । भोटेकोसी बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको पहिचान तथा शव व्यवस्थापनमा सहयोग पुर्‍याउन चीनले नेपालमा चार सदस्यीय फरेन्सिक विशेषज्ञ टोली पठाउने भएको छ।

परराष्ट्र मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत चिनियाँ फरेन्सिक टोली नेपाल आउन लागेको जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार टोली मंगलबार साँझ नेपाल आइपुग्नेछ।

यसअघि डीएनए परीक्षण तथा विश्लेषणमा दक्षता भएको भारतको १९ सदस्यीय फरेन्सिक टोलीले अगस्ट २९ देखि नेपाली अधिकारीहरूसँग सहकार्य गर्दै आएको छ। बाढीमा मृत्यु भएकाहरूको पहिचानका साथै शवको सुरक्षित व्यवस्थापन र संरक्षणका लागि आवश्यक विशेष उपकरणसमेत उपलब्ध गराउने काम भइरहेको मन्त्रालयले जनाएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्रता दिन नेपालले भारत, चीन र दक्षिण कोरियाबाट विशेषज्ञ टोलीको सहयोग प्राप्त गरिरहेको छ। विशेषगरी प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा सम्भावित पीडितको खोजी तथा उद्धारका लागि विदेशी टोलीहरू परिचालन गरिएको प्रवक्ता क्षेत्रीले बताए।

उनका अनुसार नेपाली सेनाको समन्वयमा भारतका दुई टोलीका २४ जना र चीनका नौ जना सुरुङ उद्धार विशेषज्ञ प्रभावित जलविद्युत् आयोजना क्षेत्रमा खटिएका छन्। दक्षिण कोरियाबाट आएको विशेषज्ञ टोलीसमेत उद्धार अभियानमा सहभागी भएको छ।

भारतीय सुरुङ उद्धार विशेषज्ञहरूले चिलिमे र लामटाङ जलविद्युत् आयोजना क्षेत्रमा नेपाली सेनासँग समन्वय गरी खोज तथा उद्धार गरिरहेका छन्। यस्तै, चिनियाँ टोली माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजना क्षेत्रमा उद्धार कार्यमा केन्द्रित रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया