विपद्को घडीमा सभापति रास्वपा लामिछानेको सक्रियता : खोजी, उद्धार र राहतमा निरन्तर निगरानी


काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सक्रियता बढाउनुभएको छ।
बाढीपछि प्रभावित क्षेत्रमा भइरहेका खोजी तथा उद्धारका काम र राहत व्यवस्थापनको अवस्थाबारे सभापति लामिछानेले पार्टीको विभिन्न तहमा भइरहेको गतिविधिको निरन्तर ब्रिफिङ लिनुभएको छ। उहाँले प्रभावित नागरिकको अवस्थालाई प्राथमिकतामा राख्दै पार्टीको सम्पूर्ण संयन्त्रबाट भइरहेका कामबारे जानकारी लिइरहनुभएको पार्टी प्रवक्ता जगदीश खरेलले बताउनुभयो ।


विपद्को संवेदनशील अवस्थामा कुनै पनि नागरिक सहयोगबाट वञ्चित नहोस् भन्नेमा सभापति लामिछानेले विशेष चासो देखाउनुभएको रास्वपाले जनाएको छ। उहाँले स्थानीय तहमा भइरहेको उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन पार्टीका नेता, कार्यकर्ता तथा स्वयंसेवकलाई आवश्यकताअनुसार परिचालन गर्न निर्देशन दिनुभएको छ।
प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सहयोग पहिचान गरी स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय गरेर काम गर्नसमेत उहाँले निर्देशन दिनुभएको छ।


विपद्को समयमा राजनीतिक गतिविधिभन्दा मानवीय सेवाले प्राथमिकता पाउनुपर्ने भन्दै सभापति लामिछानेले पार्टीको सम्पूर्ण तहलाई उद्धार, राहत र सहयोगमा केन्द्रित हुन आग्रह गर्नुभएको बताइएको छ।
बाढीबाट भएको क्षतिको विवरण संकलनदेखि प्रभावितको उद्धार र राहत व्यवस्थापनसम्मका गतिविधिबारे नियमित जानकारी लिँदै सभापति लामिछानेले संकटको समयमा पार्टी नेतृत्वको जिम्मेवारीलाई व्यवहारमै देखाउने प्रयास गरिरहनुभएको रास्वपाको भनाइ छ।

तपाईको प्रतिक्रिया