राहत लिएर प्रभावित क्षेत्रमा जाँदा प्रशासनसँग समन्वय गर्न आग्रह

काठमाडौं — बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि जाने व्यक्ति र संस्थाहरूलाई सरकारी निकायसँग आवश्यक समन्वय गरेर मात्रै परिचालित हुन प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले आग्रह गरेको छ।

शुक्रबार एक सूचना जारी गर्दै सचिवालयले पूर्वसमन्वयबिना निजी सवारीसाधनमा राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाने क्रम बढ्दा सडकमा चाप बढेको जनाएको छ। यसले राहत तथा उद्धारमा संलग्न टोलीसँगै आपत्कालीन सेवाका सवारीसाधनलाई समेत आवतजावतमा कठिनाइ भएको सचिवालयको भनाइ छ।

विशेषगरी जोखिमयुक्त भौगोलिक क्षेत्रमा आवश्यक तयारी र समन्वयबिना पुग्दा राहत वितरणमा जाने व्यक्तिहरू स्वयं जोखिममा पर्न सक्ने सचिवालयले जनाएको छ। अव्यवस्थित रूपमा राहत वितरण हुँदा वास्तविक प्रभावितसम्म सहायता पुर्‍याउन समेत समस्या हुन सक्ने भन्दै व्यवस्थित प्रक्रियाबाट सहयोग गर्न अनुरोध गरिएको छ।

सचिवालयका अनुसार प्रभावित क्षेत्रमा एम्बुलेन्स तथा सरकारी उद्धार टोलीको आवतजावत सहज बनाउन सडकमा अनावश्यक सवारी चाप कम गर्न आवश्यक छ। त्यसका लागि व्यक्तिगत रूपमा राहत सामग्री लिएर प्रभावित क्षेत्रतर्फ जानुभन्दा सम्बन्धित सरकारी संयन्त्रमार्फत सहयोग गर्न आग्रह गरिएको हो।

राहत वितरण वा उद्धार कार्यमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी पूर्वसमन्वय गर्न सचिवालयले अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालयले स्थानीय आवश्यकता र प्राथमिकता पहिचान गरी आवश्यक सामग्री सम्बन्धित प्रभावित क्षेत्रमा पुर्‍याउने व्यवस्था मिलाउने जनाइएको छ। यसबाट राहत वितरणलाई थप व्यवस्थित बनाउनुका साथै उद्धार कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने सचिवालयको अपेक्षा छ।

प्रधानमन्त्री सचिवालयले विपद्को अवस्थामा प्राप्त भइरहेको सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै आधिकारिक संयन्त्रमार्फत अनुशासित र समन्वयात्मक ढंगले राहत तथा उद्धारमा सहयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया