रास्वपाले गर्‍यो सचिवालय र केन्द्रीय सदस्य मनोनयन, विभिन्न जिम्मेवारी बाँडफाँट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको सचिवालय सदस्यमा ११ जनालाई मनोनयन गरेको छ। शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले परराष्ट्रमन्त्रीसमेत रहनुभएका शिशिर खनालसहित ११ जनालाई सचिवालय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको हो।

सचिवालय सदस्यमा गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, विराजभक्त श्रेष्ठ, मनोहर प्रधान, लिमा अधिकारी, माननीय जगदीश खरेल, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर र मनिष झा पनि मनोनीत हुनुभएको छ।

त्यसैगरी, बैठकले ९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। केन्द्रीय सदस्यमा पूर्वाधार विकासमन्त्रीसमेत रहनुभएका सुनिल लम्साल, भूपदेव साह, गृहमन्त्रीसमेत रहनुभएका सुधन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम यादव, मनोहर प्रधान, बसुमाया तामाङ, भक्तबहादुर राई र सुरेन्द्र चौधरी मनोनीत हुनुभएको छ।

बैठकले पार्टीका विभिन्न विभागको नेतृत्वसमेत तोकेको छ। सार्वजनिक सेवा तथा जनगुनासो विभागको प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, अन्तर्राष्ट्रिय समन्वय विभागमा शिशिर खनाल, अर्थ विभागमा लिमा अधिकारी तथा प्रशिक्षण विभागको जिम्मेवारी विपिन आचार्य र कमल सुवेदीलाई दिइएको छ। संगठन विभागको नेतृत्व प्रमोद न्यौपानेलाई तोकिएको छ।

यसैगरी, रास्वपाले पार्टीका विभिन्न पदाधिकारीको जिम्मेवारीसमेत निर्धारण गरेको छ। जगदीश खरेललाई प्रवक्ता, सुरेन्द्र चौधरी र डा. नविता यादवलाई सहप्रवक्ता, पुरुषोत्तम यादवलाई सहमहामन्त्री, मनोहर प्रधानलाई कोषाध्यक्ष तथा बसुमाया तामाङलाई सहकोषाध्यक्षको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ।

तपाईको प्रतिक्रिया