दक्षिण कोरियाली राजदूत पार्कको बिदाइ भेट, नेपाल–कोरिया सम्बन्ध थप विस्तारमा जोड

काठमाडौँ । दक्षिण कोरियाका राजदूत पार्क तइयोङले आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कनुअघि परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार बिदाइ भेट गरेका छन्।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटमा दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो। भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल र दक्षिण कोरियाबीच कनेक्टिभिटी विस्तारसँगै व्यापार, स्वास्थ्य र शिक्षा क्षेत्रलाई सहकार्यका प्रमुख आधार बनाउनुपर्ने धारणा राखे।

उनले नेपालमा लगानीका सम्भावित क्षेत्र पहिचान गरी सहकार्य बढाउनुपर्ने उल्लेख गर्दै ऊर्जा र उत्पादन क्षेत्रसँगै अन्य नयाँ क्षेत्रमा समेत साझेदारी विस्तार गर्नुपर्ने बताए। साथै, शिक्षा क्षेत्रमा अनुसन्धान संस्था र शैक्षिक निकायबीचको सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

परराष्ट्रमन्त्री खनालले दक्षिण कोरियाले सञ्चालन गर्दै आएको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यक्रम दुई देशबीचको सम्बन्धको महत्वपूर्ण उदाहरण भएको बताए। उनले ईपीएसले नेपाल र दक्षिण कोरियाबीच जनस्तरको सम्बन्ध बलियो बनाउन सहयोग पुर्‍याएको उल्लेख गरे।

तीन वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका राजदूत पार्कले नेपालमा रहँदा पाएको सहयोग र अनुभवप्रति आभार व्यक्त गरे। उनले आफू जहाँ रहे पनि नेपाललाई सम्झिरहने बताउँदै नेपालको सांस्कृतिक विविधताको प्रशंसा गरे।

तपाईको प्रतिक्रिया