चुनदेवीमा कांग्रेस संस्थापनइतर समूहको बैठक जारी, राष्ट्रिय भेलाको मिति तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक सोमबार काठमाडौंको चुनदेवीस्थित नवस्थापित सम्पर्क कार्यालयमा जारी छ।

संस्थापनइतर समूहले १५औँ महाधिवेशनको तयारीलाई तीव्र बनाउने उद्देश्यसहित सञ्चालनमा ल्याएको सम्पर्क कार्यालयबाट पहिलो औपचारिक बैठक बसेको हो। बैठकमा महाधिवेशनको रणनीति, संगठन विस्तार र आगामी कार्यक्रमबारे छलफल भइरहेको बताइएको छ।

नेता विमलेन्द्र निधिका अनुसार, चुनदेवीमा भाडामा लिइएको सम्पर्क कार्यालयलाई आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। यस कार्यालयलाई संस्थापनइतर समूहका नेताहरूबीच नियमित छलफल, समन्वय र भेटघाटको केन्द्रका रूपमा प्रयोग गरिनेछ।

बैठकमा सहभागी नेता डा. प्रकाशशरण महतले राष्ट्रिय भेलाको मिति तय गर्ने विषय आजको प्रमुख एजेन्डा रहेको बताए। उनका अनुसार काठमाडौंमा उपलब्ध नेताहरूको सहभागितामा छलफल भइरहेको छ र आवश्यक निर्णय बैठकबाटै सार्वजनिक गरिनेछ।

यद्यपि, संस्थापनइतर समूहका प्रमुख नेतामध्ये एक डा. शेखर कोइराला भने आजको बैठकमा सहभागी भएका छैनन्। उहाँको अनुपस्थितिको कारणबारे औपचारिक जानकारी दिइएको छैन।

कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारीसँगै आन्तरिक शक्ति सन्तुलन र नेतृत्वबारे बहस तीव्र बन्दै गएको बेला संस्थापनइतर समूहले छुट्टै सम्पर्क कार्यालय सञ्चालनमा ल्याउनु र नियमित बैठक सुरु गर्नु राजनीतिक रूपमा अर्थपूर्ण कदमका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया