देशभक्त र गणतन्त्र पक्षधर शक्तिलाई एकताबद्ध गर्नुपर्नेमा माधव नेपालको जोड

काठमाडौं, — नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकता हुने सम्भावना नरहेको बताएका छन्। उनले यस विषयमा फैलिएका चर्चा र अड्कलबाजीप्रति विश्वास नगर्न कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आग्रह गरेका छन्।

शनिबार पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले एमालेसँग एकता हुन लागेको भन्ने चर्चा बारम्बार उठ्ने गरेको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारे। उनले यस्ता हल्लाका कारण आफूले धेरै जिज्ञासा र प्रश्नहरूको सामना गर्नुपरेको पनि बताए।

उनका अनुसार वर्तमान राजनीतिक परिस्थितिमा एमालेसँग पार्टी एकताको आधार र वातावरण नदेखिएको भन्दै यसबारे भ्रममा नपर्न आग्रह गरे।

नेता नेपालले अहिलेको प्राथमिकता देशभक्त, परिवर्तनमुखी, गणतन्त्र पक्षधर तथा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र एकता निर्माण गर्नु रहेको धारणा राखे। उनले राष्ट्रिय हित, जनताको अधिकार र गणतान्त्रिक व्यवस्थाको संरक्षणका लागि प्रतिबद्ध राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा उनले राष्ट्रहित, जनहित र राजनीतिक परिवर्तनका उपलब्धिको रक्षा गर्न आफ्नो पार्टी सक्रिय रहेको दाबी गर्दै समाज रूपान्तरणको लक्ष्यसहित अघि बढिरहेको बताए। साथै, वैज्ञानिक समाजवाद र नेपाली विशेषतामा आधारित समाजवादको अवधारणालाई पार्टीले मार्गदर्शक सिद्धान्तका रूपमा अघि बढाइरहेको उल्लेख गरे।

तपाईको प्रतिक्रिया