लगानीकर्ता अन्योलमा, बजार घट्दा पनि कारोबार रकम बढ्यो

काठमाडौं, जेठ २२ — साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। अघिल्लो कारोबार दिनको गिरावटलाई निरन्तरता दिँदै शुक्रबार नेप्से ११.३७ अंकले ओरालो लागेको हो।

कारोबार अवधिभर बजारले सकारात्मक गति समात्न नसकेको देखियो। दिनभरको कारोबारमा ७४ कम्पनीको सेयर मूल्य बढ्दा १८४ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो।

बजार सूचक घटे पनि कारोबार रकम भने उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो दिन ४ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार यो रकम बढेर ५ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।

क्षेत्रगत रूपमा फाइनान्स समूह सबैभन्दा धेरै २.७७ प्रतिशतले उकालो लाग्यो। यससँगै फाइनान्स उपसूचक गत चैत १५ यताकै उच्च बिन्दुमा पुगेको छ। होटल तथा पर्यटन र निर्जीवन बीमा समूहमा पनि सामान्य वृद्धि देखिएको छ।

यता बैंकिङ, विकास बैंक, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, व्यापार तथा अन्य समूहका सूचकहरू भने घटेका छन्।

व्यक्तिगत कम्पनीतर्फ कालिन्चोक हाइड्रोपावर को सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढ्यो। त्यसपछि उपकार लघुवित्त, बेस्ट फाइनान्स र सिटी होटल का लगानीकर्ताले उल्लेखनीय लाभ कमाए।

त्यसैगरी होटल फरेस्ट इन, माबिलुङ इनर्जी, रिजलाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक का सेयरधनीले सबैभन्दा बढी घाटा बेहोरे।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत्, सिटी होटल, सेन्ट्रल फाइनान्स, रिडी पावर, रिलायन्स स्पिनिङ मिल्स र बेस्ट फाइनान्स अग्रस्थानमा रहे।

तपाईको प्रतिक्रिया