अश्लील सामग्रीको धम्कीपछि महिलाको आत्महत्या, एक पक्राउ,

खोटाङ, जेठ २२ — सामाजिक सञ्जालमार्फत लगातार मानसिक दबाब र दुर्व्यवहारको सामना गरेपछि खोटाङकी एक महिलाले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनासँग सम्बन्धित आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ की ३२ वर्षीया देवी विष्ट कार्कीको शव जेठ २० गते बिहान घर नजिकैको जंगलमा झुन्डिएको अवस्थामा फेला परेको थियो।

अनुसन्धानका क्रममा सामाजिक सञ्जालमार्फत लामो समयदेखि अश्लील सन्देश पठाउने, अपमानजनक भाषा प्रयोग गर्ने तथा तस्बिर दुरुपयोग गरी अश्लील सामग्री बनाएर सार्वजनिक गर्ने धम्की दिने कार्य भएको पाइएको प्रहरीले जनाएको छ।

यस घटनामा संलग्न रहेको आरोपमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ का ४९ वर्षीय कुमार थापालाई पक्राउ गरिएको छ। प्रहरीले फेसबुक, म्यासेन्जर र इमोमार्फत महिलामाथि निरन्तर मानसिक दबाब सिर्जना गरिएको प्रारम्भिक प्रमाण फेला परेको जनाएको छ।

प्रहरीका अनुसार महिलाले भेट्न अस्वीकार गरेपछि उनको तस्बिर प्रयोग गरी आपत्तिजनक सामग्री बनाउने तथा सार्वजनिक गर्ने धम्कीसमेत दिइएको देखिएको छ। हालसम्म दुवैबीच प्रत्यक्ष भेटघाट नभई सामाजिक सञ्जालमार्फत मात्रै सम्पर्क भएको अनुसन्धानबाट खुलेको छ।

निराजन बस्नेत का अनुसार घटनासँग सम्बन्धित मोबाइल फोनहरू डिजिटल फरेन्सिक परीक्षणका लागि पठाइएको छ र त्यसको प्रतिवेदनपछि थप तथ्य बाहिर आउने अपेक्षा गरिएको छ।

पक्राउ परेका व्यक्तिविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला अदालत दिक्तेलबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।

तपाईको प्रतिक्रिया