खुम्बु आइसफलमा चमत्कारिक उद्धार, ६ दिनपछि भेटिए पर्वतारोहण गाइड,

काठमाडौं, जेठ २१ — सगरमाथा क्षेत्रमा हराएका ओखलढुङ्गाका पर्वतारोहण गाइड दावा शेर्पा लाई बेपत्ता भएको छ दिनपछि जीवितै उद्धार गरिएको छ।

खोजी टोलीले बुधबार बिहान उनलाई खुम्बु आइसफल क्षेत्रमा फेला पारेको हो। उद्धारमा संलग्न टोलीका अनुसार शेर्पा हिउँमाथि घिस्रिँदै तल झर्ने प्रयास गरिरहेको अवस्थामा भेटिएका थिए।

दावा हिमालयन ट्राभर्स एडभेन्चरसँग आबद्ध थिए। उनी जेठ १५ गते सगरमाथाको तेस्रो शिविर आसपासबाट सम्पर्कविहीन भएका थिए, त्यसयता उनको व्यापक खोजी भइरहेको थियो।

पेम्बा शेर्पा को पहलमा निजी खर्चमै खोज तथा उद्धार अभियान सञ्चालन गरिएको थियो। खोजीका लागि हेलिकोप्टरसहितको विशेष टोली परिचालन गरिएको थियो।

उद्धारपछि उनलाई हेलिकोप्टरमार्फत आधार शिविर हुँदै थप उपचारका लागि काठमाडौं पठाइएको छ। सार्वजनिक तस्वीरहरूमा उनका हातका औँलामा चोट लागेको देखिएको छ।

प्राप्त जानकारीअनुसार दावा शेर्पा एक पोलिस नागरिकको सगरमाथा आरोहण टोलीसँग गएका थिए। आरोहण सम्पन्न गरी फर्किने क्रममा उनी सम्पर्कविहीन भएका थिए।

तपाईको प्रतिक्रिया