६ महिनाको कार्ययोजना बनाउँदै नगरव्यापी समावेशी सरसफाइ कार्यक्रमको मध्यावधि समीक्षा गोष्ठी सम्पन्न

काठमाडौ : सरसफाइको क्षेत्रमा आगामी ६ महिना भित्र गरिने कामहरुको कार्ययोजना बनाउँदै मंगलबारदेखि काठमाडौमा जारी नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरूको विस्तार (नेपाल) कार्यक्रम (Scaling Citywide Inclusive Sanitation Service Systems)’ को मध्यावधि समीक्षा गोष्ठी सम्पन्न भएको छ ।

मंगलबार देखि जारी समीक्षा गोष्ठीमा कार्यक्रम सञ्चालित ७ वटै नगरपालिका र ३ वटा रणनीतिक नगरपालिका गरी १० वटै नगरपालिकाले कार्ययोजना बनाएका हुन्। कार्ययोजना निर्माण गर्नु अघि नगरपालिका र साझेदार संस्थाहरु बीच भएको समझदारी बमोजिमको प्रगति, चुनौती, मुख्य सिकाईहरु र आगामी दिनमा गर्नुपर्ने कार्यहरुको बारेमा विस्तृत रुपमा छलफल गरिएको थियो।

समावेशी सरसफाइमा आधारित तथ्याङ्क संकलनको कामलाई हरेक नगरपालिकाले महत्वपूर्ण प्राप्तिको रुपमा लिएको छ । समावेशी सरसफाइ सम्बन्धी तथ्याङ्कले आ-आफ्नो नगरपालिका भित्रको सरसफाइको तस्बिर प्रष्ट रुपमा देखिएको र कुन कुन क्षेत्रमा कसरी सुधार गर्नुपर्छ भन्ने मार्ग निर्देशन समेत भएको सल्यानको शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले बताउनुभयो।

हरेक नगरपालिकाले कार्ययोजना निर्माण गरेपछि प्रस्तुतीकरण गरिएको थियो । हरेक नगरपालिकाको प्रस्तुतीकरण पछि UN-Habitat का राष्ट्रिय प्रोफेस्नल अफिसर (वास) सुधा श्रेष्ठले कार्ययोजना माथि आफ्नो टिप्पणी प्रस्तुत उहाँले खानेपानी सेवालाई जस्तै सरसफाइलाई पनि सार्वजनिक सेवाको रुपमा अंगीकार गर्न आग्रह गर्नुभयो।

सरसफाइ क्षेत्रको मात्र नभई जुनसुकै क्षेत्रको सुधार गर्नका लागि वास्तविक तथ्याङ्क आवश्यक पर्ने उहाँको भनाइ थियो । कार्यक्रम अन्तर्गत संकलित सबै तथ्याङ्लाई केन्द्रीय तथ्याङ्क प्रणालीमा प्रविष्ट गर्ने सम्बन्धित नगरपालिकाहरुले आफ्नो कार्ययोजनामा राखेका छन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको तथ्याङ्क संकलनका लागि एन वास एम.आई.एस. सञ्चालित छ । एन वास एम.आई.एस.मा संकलित तथ्याङ्कै आधारमा विभिन्न पालिकाहरुले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) तयार गरिरहेको छ ।

२०८२ असार १३ गते भएको समझदारी अनुसार कार्यक्रम सञ्चालित पालिकाहरूलाई प्राविधिक सहयोग उपलब्ध गराउने उल्लेख थियो। यस अन्तर्गत दिशाजन्य लेदो व्यवस्थापन सम्बन्धी ऐन, नियमावली, कार्यविधि, योजना तथा नीति निर्माणमा सहयोग, तथ्यांक संकलन तथा एन–वास प्रणालीमा अद्यावधिक, क्षमता विकास तालिम तथा अनुगमन-मूल्यांकन लगायतका कार्य समावेश गरिएको थियो।

त्यस्तै, सम्बन्धित नगरपालिकाहरूले दिशाजन्य लेदो व्यवस्थापन सम्बन्धी नीति तथा योजना परियोजना अवधिभित्र पारित गर्ने, सरसफाइ बजेटको कम्तीमा १५ प्रतिशत रकम दिशाजन्य लेदो व्यवस्थापनमा विनियोजन गर्ने, आवश्यक जग्गा तथा पूर्वाधार उपलब्ध गराउने र परियोजना कार्यान्वयनका लागि वातावरण तथा सरसफाइ शाखा मार्फत फोकल पर्सन तोक्ने जिम्मेवारी लिएका थिए।

गोदावरी नगरपालिका, कैलाली सुदुरपश्चिम प्रदेश, शारदा नगरपालिका, सल्यान, कर्णाली प्रदेश, घोराही उपमहानगरपालिका, दाङ लुम्बिनी प्रदेश, गोरखा नगरपालिका, गोरखा, गण्डकी प्रदेश, ललितपुर महानगरपालिका, ललितपुर, वाग्मती प्रदेश, लहान नगरपालिका, सिरहा, मधेस प्रदेश, मेचीनगर नगरपालिका, झापा, कोशी प्रदेशमा यो कार्यक्रम सञ्चालित छ ।

गेटस् फाउण्डेसनको वित्तिय व्यवस्थापनमा कार्यान्वयन भैरहेको ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरूको विस्तार नेपाल कार्यक्रम’ को यु.एन.ह्याबिटाट (UN-Habitat) कार्यकारी निकाय हो।

नेपाल नगरपालिका संघ, वाटर एड नेपाल, नेपाल नगरपालिका संघ, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्र कार्यक्रमका साझेदार संस्थाहरु हुन् ।

News Source : washkhabar.com। Photo Source:washkhabar.com

तपाईको प्रतिक्रिया