आर्थिक छानविनपछि एन्फा पदाधिकारीमाथि कारबाही, विदेश जान नपाउने अवस्था

काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङसहित २४ जना पदाधिकारीको पासपोर्ट कालोसूचीमा राखिएको छ, जसका कारण उनीहरूको विदेश यात्रा तत्कालका लागि रोकिएको छ।

अध्यागमन विभागका अनुसार सम्बन्धित निकायबाट प्राप्त सिफारिसका आधारमा ती पदाधिकारीहरूको पासपोर्ट कालोसूचीमा समावेश गरिएको हो। उक्त निर्णयपछि उनीहरूले विदेश यात्रा गर्न नपाउने भएका छन्।

एन्फासँग सम्बन्धित आर्थिक तथा प्रशासनिक विषयमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद्ले कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको थियो। सोही उपसमितिको सिफारिसअनुसार पदाधिकारीहरूको पासपोर्टमा प्रतिबन्ध लगाउने प्रक्रिया अघि बढाइएको बताइएको छ।

उक्त सिफारिस युवा तथा खेलकुद मन्त्रालय हुँदै गृह मन्त्रालयसम्म पुगेपछि अध्यागमन विभागलाई औपचारिक जानकारी गराइएको थियो। त्यसपछि सम्बन्धित पदाधिकारीहरूको विवरण कालोसूचीमा राखिएको हो।

अध्यागमन स्रोतका अनुसार कालोसूचीमा परेका व्यक्तिहरूले विदेश जान प्रयास गरेमा सम्बन्धित निकायलाई तुरुन्त जानकारी गराइने व्यवस्था गरिएको छ।

पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद् र एन्फाबीच विवाद चुलिएको छ। परिषद्ले आफ्ना निर्देशनविपरीत गतिविधि भएको भन्दै एन्फालाई केही समयका लागि निलम्बनसमेत गरेको थियो। साथै एन्फामा अनियमितता भएको आरोपसम्बन्धी उजुरीहरू पनि सम्बन्धित निकायमा परेपछि छानविन प्रक्रिया अघि बढाइएको हो।

यसैबीच, एन्फाका पदाधिकारीहरू क्यानडाको भ्यानकुवरमा आयोजना हुने ७६औँ फिफा कंग्रेसमा सहभागी हुने तयारीमा थिए। तर पासपोर्ट कालोसूचीमा परेपछि उनीहरूको उक्त अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता अनिश्चित बनेको छ।

तपाईको प्रतिक्रिया