अतिक्रमण हटाउने क्रममा मन्त्री मन्सुरीको घर अगाडि रहेको टहरा भत्काइयो

इनरुवा । इनरुवा नगरपालिकाले पूर्व–पश्चिम लोकमार्ग आसपासको सडकपेटी अतिक्रमण हटाउने अभियान सुरु गरेको छ । नगर प्रमुख केदार भण्डारीको नेतृत्वमा नगरपालिकाले डोजर प्रयोग गर्दै सडक क्षेत्र ओगटेर बनाइएका घरटहरा हटाउन थालेको हो ।

शुक्रबार बिहानबाट सुरु गरिएको अभियानअन्तर्गत कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीको घरअगाडि रहेको टहरासमेत हटाइएको छ । लामो समयदेखि सडकपेटी अतिक्रमण गरी बनाइएका संरचनालाई हटाउँदै अभियान अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार अतिक्रमण हटाउनका लागि यसअघि पटक–पटक विभिन्न अवधिका सूचना जारी गरिए पनि प्रभावकारी कार्यान्वयन नभएपछि बाध्य भएर डोजर प्रयोग गर्नुपरेको हो । करिब तीन वर्षदेखि जारी चेतावनीलाई बेवास्ता गरिएपछि अभियान तीव्र पारिएको जनाइएको छ ।

नगर प्रहरी र सुरक्षा निकायको उपस्थितिमा सञ्चालन गरिएको अभियानमार्फत सार्वजनिक स्थान खाली गराउने काम भइरहेको छ । नगरपालिकाले नगर सफा र व्यवस्थित बनाउन स्थानीयवासीको सहयोग आवश्यक रहेको जनाएको छ ।

यता, मन्त्री मन्सुरीले पनि समयमै संरचना हटाउन नसकिएकाले आफ्नो घरअगाडि रहेको टहरा भत्काइएको स्वीकार गरेका छन् । उनले सडकपेटी खाली गराउने अभियानमा सहयोग गर्न सबैलाई आग्रह गर्दै यसमा आफूलाई कुनै आपत्ति नभएको बताएका छन् ।

तपाईको प्रतिक्रिया