साफ यू–२० च्याम्पियनसिप : समूह विजेता बन्दै सेमिफाइनल पुग्ने लक्ष्यमा नेपाल

काठमाडौं । नेपाल यू–२० राष्ट्रिय फुटबल टोलीले साफ यू–२० च्याम्पियनसिपअन्तर्गत आज (चैत १३) माल्दिभ्स यू–२० टोलीसँग प्रतिस्पर्धा गर्दैछ।

समूह ‘ए’ मा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले शीर्ष स्थान हासिल गर्दै सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्य लिएको छ। नेपाल यसअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ। प्रारम्भिक खेलहरूमा नेपालले भुटानलाई २–१ र श्रीलंकालाई १–० ले पराजित गरेको थियो।

घरेलु टोली माल्दिभ्स भने प्रतियोगिताको अन्तिम खेलमा जित निकाल्दै सकारात्मक नतिजासहित यात्रा टुंग्याउने तयारीमा छ। दुई खेल खेलेको माल्दिभ्सले एक बराबरी र एक हारसहित एक अंक मात्र जोडेको छ।

नेपाल र माल्दिभ्सबीचको खेल मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समयअनुसार साँझ ४:३० बजे सुरु हुनेछ।

आजै हुने अर्को खेलमा भुटान र श्रीलंका आमनेसामने हुनेछन्। उक्त खेलमा श्रीलंकालाई सेमिफाइनलमा पुग्न जित अनिवार्य छ। दुई खेलबाट एक जित र एक हारसहित तीन अंक जोडेको श्रीलंका हाल दोस्रो स्थानमा छ।

भुटान भने प्रतियोगितामा पहिलो जित निकाल्दै सुखद अन्त्य गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ। भुटानले नेपालसँग २–१ को हार बेहोरेको थियो भने माल्दिभ्ससँग १–१ को बराबरी खेलेको थियो।

भुटान र श्रीलंकाबीचको खेल पनि सोही रंगशालामा नेपाली समयअनुसार राति ९:१५ बजे सुरु हुनेछ।

तपाईको प्रतिक्रिया