योग्यता र क्षमताका आधारमा मन्त्री चयन गरिने, अनावश्यक दबाब नदिन रवि लामिछाने द्वारा आग्रह

काठमाडौं, — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले नवनिर्वाचित सांसदहरूलाई मन्त्री बन्ने विषयमा अनावश्यक सक्रियता नदेखाउन आग्रह गरेका छन्।

ललितपुरस्थित एक होटलमा आयोजित नवसांसदहरूको अभिमुखीकरण कार्यक्रमको समापनका क्रममा उनले हालसम्म कसलाई कुन मन्त्रालय दिने भन्ने विषयमा कुनै अन्तिम निर्णय नभएको जानकारी दिए।

उनका अनुसार पार्टीभित्रबाट केही सांसदहरू भविष्यमा मन्त्रिपरिषद्मा सहभागी हुन सक्ने भए पनि त्यसका लागि व्यक्तिगत रूपमा पहल गर्ने वा सार्वजनिक रूपमा आफूलाई मन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्ने कार्य उपयुक्त नहुने बताए।

लामिछानेले सञ्चारमाध्यममार्फत आफूलाई मन्त्रीको रूपमा प्रचार गर्ने वा दबाब सिर्जना गर्ने प्रवृत्तिबाट टाढा रहन पनि सुझाव दिएका छन्।

उनले पार्टीले सबै पक्षको मूल्यांकन गरेर योग्य र सक्षम व्यक्तिलाई जिम्मेवारी दिने स्पष्ट पारे। साथै, पार्टीले सार्वजनिक रूपमा देखिएका मात्र होइन, कम चर्चामा रहेका तर दक्ष व्यक्तिहरूलाई पनि ध्यानमा राखिरहेको उल्लेख गरे।

उनको भनाइ अनुसार मन्त्री छनोट प्रक्रियामा व्यक्तिगत आग्रहभन्दा पनि क्षमता, अनुभव र आवश्यकताको आधारमा निर्णय लिइनेछ।

तपाईको प्रतिक्रिया