खाडी क्षेत्रमा समस्यामा परेका नेपाली साउदी हुँदै स्वदेश फर्कन सक्ने

काठमाडौं : खाडी क्षेत्रमा समस्यामा परेका नेपाली नागरिकलाई साउदी अरब हुँदै नेपाल फर्कन सहजीकरण गरिने भएको छ। परराष्ट्र मन्त्रालयले आपतकालीन अवस्थाका नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको जनाएको छ।

खाडी क्षेत्रमा बढ्दो तनावका कारण केही स्थानमा यात्रा व्यवस्थापन प्रभावित भएको अवस्थामा यस्तो सहजीकरण गरिने मन्त्रालयले स्पष्ट पारेको छ। ओमान, कतार, कुवेत, बहराइन र संयुक्त अरब इमिरेट्समा रहेका नेपाली नागरिकले आवश्यक परे साउदी अरब हुँदै नेपाल फर्कन सक्ने व्यवस्था मिलाइने बताइएको छ।

यसका लागि सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरूले साउदी अरबको भिसा प्राप्त गर्न सहजीकरण गर्नेछन्। आपतमा परेका नेपालीलाई आफ्नो राहदानीको प्रतिलिपि, भिसाको प्रतिलिपि तथा सम्भावित यात्रा योजनासहित सम्बन्धित नेपाली दूतावासमा जानकारी उपलब्ध गराउन अनुरोध गरिएको छ।

साउदी अरबको ओमान, कतार, कुवेत, बहराइन र संयुक्त अरब इमिरेट्ससँग स्थल सीमा जोडिएको छ। खाडी क्षेत्रका केही स्थानमा हवाई सेवा पूर्ण रूपमा नियमित नभए पनि सीमित उडान सञ्चालन भइरहेका छन्। संयुक्त अरब इमिरेट्समा केही एयरलाइन्सका सीमित उडान जारी रहेको र दुबई विमानस्थलमा आएको अस्थायी अवरोधपछि उडान पुनः सञ्चालनमा आएको जनाइएको छ।

यद्यपि सीमित उडानका कारण टिकट उपलब्धता चुनौतीपूर्ण रहेको बताइएको छ। साउदी अरब र ओमानतर्फ भने हवाई सेवा सञ्चालनमा रहेकाले इच्छुक नेपाली नागरिकले ती देशमार्फत पनि हवाई यात्रा गरी स्वदेश फर्कन सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया