माघ ११ को निर्वाचनबाट विजयी राष्ट्रियसभा सदस्यले लिए शपथ

काठमाडौं — राष्ट्रिय सभामा हालै निर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष नवनिर्वाचित सदस्यहरूले शपथ लिएका हुन्।

गत माघ ११ गते राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ पदका लागि सातै प्रदेशमा निर्वाचन सम्पन्न भएको थियो। निर्वाचन आयोगका अनुसार उक्त निर्वाचनबाट विभिन्न दलका उम्मेदवारहरू विजयी भएका थिए।

कोशी प्रदेशबाट सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए भने त्यसपछि सोही प्रदेशबाट सोम पोर्तेल र रोशनी मेचे विजयी भएका थिए।

मधेश प्रदेशमा महिलातर्फ रेखा झा, अल्पसंख्यक समूहबाट रंजित कर्ण, दलित समूहबाट धर्मेन्द्र पासवान तथा अन्य समूहबाट महन्थ ठाकुर निर्वाचित भएका थिए।

बागमती प्रदेशबाट महिलातर्फ गीता देवकोटा र अन्य समूहबाट डा. प्रेमप्रसाद दंगाल विजयी भएका थिए। गण्डकी प्रदेशमा अन्य समूहबाट जगत तिमिल्सिना तथा महिलातर्फ सम्झना देवकोटा निर्वाचित भएका थिए।

त्यसैगरी लुम्बिनी प्रदेशबाट महिलातर्फ रामकुमारी झाँक्री, अपाङ्गता समूहबाट बासुदेव घिमिरे र अन्य समूहबाट चन्द्रबहादुर केसी विजयी भएका थिए।

कर्णाली प्रदेशबाट अन्य समूहमा ललितजंग शाही तथा महिलातर्फ मिनासिंह रखाल निर्वाचित भएका छन्। सुदूरपश्चिम प्रदेशबाट महिलातर्फ लीला भण्डारी र खुला समूहबाट खम्मबहादुर खाती विजयी भएका थिए।

निर्वाचनपछि नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै आफ्नो कार्यकाल औपचारिक रूपमा सुरु गरेका छन्।

तपाईको प्रतिक्रिया