डेढ वर्षको रोकावटपछि सौर्य एयरलाइन्सलाई पुनः उडानको बाटो खुल्यो

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले करिब डेढ वर्षपछि फेरि उडान सञ्चालन गर्न अनुमति पाएको छ।

२०८१ साउन ९ गते पोखरा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीको एयरक्राफ्ट अपरेटर सर्टिफिकेट (एओसी) अनिश्चितकालका लागि निलम्बन गरेको थियो। उक्त जहाज विस्तृत प्राविधिक परीक्षण (सी–चेक) का लागि काठमाडौंबाट पोखरातर्फ उडेको थियो।

दुर्घटनामा १९ जना सवारमध्ये क्याप्टेन मनिष शाक्य बाहेक १८ जनाको ज्यान गएको थियो। जहाज रनवे ०२ बाट उडान भरेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनाग्रस्त भएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले माघ ४ गते सौर्य एयरलाइन्सको एओसी नवीकरण गर्दै अघिल्लो निलम्बनसमेत हटाएको हो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार नवीकरण गरिएको अनुमति सन् २०२७ सम्म मान्य रहनेछ।

प्राधिकरणले सौर्य एयरलाइन्सलाई चन्द्रगढी (भद्रपुर), विराटनगर, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा), पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज र धनगढीमा नियमित तथा वैकल्पिक उडान सञ्चालन गर्न स्वीकृति दिएको छ।

दुर्घटनापछि उडान अनुमति नपाएको सौर्य एयरलाइन्सले लामो समयदेखि पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गर्दै प्राधिकरणसँग अनुमति माग्दै आएको थियो।

कम्पनीका बजार प्रमुख मुकेश खनालका अनुसार हाल तीन वटा ५० सिट क्षमताका सीआरजे–२०० सिरिजका विमानले उडान अनुमति पाएका छन्। तीमध्ये एउटा विमान काठमाडौं बाहिर सञ्चालन हुने र दुई वटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रहने व्यवस्था गरिएको छ।

हाल काठमाडौं–भद्रपुर–विराटनगर रुटमा उडान सुरु गरिएको जनाउँदै खनालले आगामी दिनमा नेपालगञ्ज र मानसरोवरतर्फ पनि उडान विस्तार गर्ने योजना रहेको बताए।

यसका साथै कम्पनीले थप तीन वटा एटिआर–६०० सिरिजका नयाँ विमान खरिद गर्ने तयारीसमेत गरिरहेको छ। उडान पुनः सञ्चालनका लागि आवश्यक सुरक्षा अडिट, कर्मचारी तालिम, दस्तावेज सुधार तथा डिजिटल प्रणालीसँग सम्बन्धित सबै प्रक्रिया पूरा भइसकेको उनले जानकारी दिए।

नियामक निकायले गरेको फ्लाइट सेफ्टी अडिट (एसएमएस) मा सौर्य एयरलाइन्सले ६५ प्रतिशत अंक हासिल गरेको छ, जुन निर्धारित मापदण्डअनुसार सन्तोषजनक मानिन्छ।

तपाईको प्रतिक्रिया