कांग्रेस गगन समूहको निर्वाचन आयोगमा धर्ना

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले निर्वाचन आयोगमा धर्ना दिएका छन्। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिक मान्यता दिन माग गर्दै उनीहरूले आयोगअगाडि प्रदर्शन गरेका हुन्।

शुक्रबार (माघ २) दिउँसो कांग्रेसका नेताहरू आयोगअगाडि पलेँटी कसेर धर्नामा बसेका थिए। शुक्रबार बिहान, कांग्रेस देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहितका नेताहरूले आफूहरू आधिकारिक भएको दाबी गर्दै आयोगमा निवेदन दिएका थिए।

निर्वाचन आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली कांग्रेसको विधान र आयोगका विगतका नजिरका आधारमा निर्णय गर्ने जवाफ दिएको थियो। अहिले गगन थापाको नेतृत्वको केन्द्रीय कमिटीलाई आधिकारिक घोषणा गर्न दबाब दिन धर्ना कार्यक्रम आयोजना गरिएको हो। विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति अध्यावधिक गर्न बिहीबार आयोगमा निवेदन पेश गरिएको थियो।

तपाईको प्रतिक्रिया