स्थानीय तहका अपेक्षा बुझ्न सरकारले गरेको प्रत्यक्ष भेटघाट, स्थानीयवासीमा उत्साह

ललितपुर — सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले महालक्ष्मी नगरपालिका वडा–६ को भ्रमण गर्दै स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्नुभएको छ। यस भ्रमणको उद्देश्य स्थानीय तहका नागरिकसँग प्रत्यक्ष भेटघाट गरी स्थानीयवासीको समस्या, आवश्यकता र सुझाव बुझ्नु रहेको थियो।

भेटघाटका क्रममा स्थानीयवासीहरूले शिक्षा, सीप विकास, रोजगारी, पूर्वाधार तथा सेवा प्रवाहसँग सम्बन्धित विभिन्न विषयमा आफ्ना विचार व्यक्त गर्नुभयो। उहाँहरूले उठाएका सुझाव र समस्या मन्त्रालयसँग सम्बन्धित कार्यक्रमसँग जोडेर सम्बोधन गरिने जानकारी सञ्चारमन्त्री जगदीश खरेलले गर्नुभयो।

वडा नम्बर ६ का वडाध्यक्ष शोभा महर्जनले सिद्दिपुरको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँगै कृषि र परालमा आधारित परम्परागत पेशाको महत्वबारे जानकारी दिनुभयो। उहाँहरूले परालबाट निर्माण गरिएका सामग्री मन्त्री खरेललाई मायाको चिनो हस्तान्तरण गर्नुभयो।

महालक्ष्मी नगरपालिका–६ अन्तर्गत सञ्चालनमा रहेको सिद्दिपुर सामुदायिक सिकाइ केन्द्रमार्फत “सिप सिकाऔँ, आत्मनिर्भर बनाऔँ” भन्ने नारासहित परालजन्य सामग्री निर्माणसम्बन्धी तालिम सञ्चालन भइरहेको जानकारी उहाँहरूले दिनुभयो। यद्यपि, ई–लर्निङ ल्याब सञ्चालनका लागि आवश्यक कम्प्युटरको अभाव रहेको उहाँहरूले उल्लेख गर्नुभयो। मन्त्री खरेलले केन्द्रको अवलोकन गर्दै सरकारले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

भ्रमणको क्रममा मन्त्री खरेलले सिद्दिपुरस्थित भैरव मन्दिरमा दर्शन गर्नुका साथै स्थानीयवासीसँग संक्षिप्त संवाद गर्नुभयो। उहाँले आगामी फागुन २१ गते हुने निर्वाचन समयमै सम्पन्न हुने स्पष्ट पार्दै नागरिकलाई जिम्मेवार मतदान गर्न आग्रह गर्नुभयो।

घरदैलोमा मन्त्री खरेलको उपस्थितिप्रति स्थानीयवासी उत्साहित देखिनुभयो। निर्वाचनपछि जनप्रतिनिधिहरू नागरिकबाट टाढिने प्रवृत्तिको सन्दर्भमा, स्थानीय निशान्त श्रेष्ठले प्रत्यक्ष संवादको अभ्यास सकारात्मक र प्रभावकारी कदम भएको प्रतिक्रिया दिनुभयो।

केही स्थानीयले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन अनुरोध गरे पनि सञ्चारमन्त्री खरेलले आफू कुनै राजनीतिक दलमा आबद्ध नरहेको र निर्वाचनमा उठ्नेबारे हाल निर्णय नगरेको स्पष्ट पार्नुभयो।

सञ्चारमन्त्री खरेलले भन्नुभयो, “सरकारको कामकाज केवल सिंहदरबारभित्र सीमित नराखी, स्थानीय समुदायसम्म पुगेर वास्तविक समस्या बुझ्नुपर्छ। नागरिकसँगको प्रत्यक्ष संवादले सरकारलाई उनीहरूको आवश्यकता अनुसार योजना बनाउने अवसर दिन्छ।”

कार्यक्रमको अन्त्यमा मन्त्री खरेलले शंखादेवी मन्दिरमा दर्शन गर्नुका साथै त्यहाँका स्थानीयवासीसँग सरकारका हालसम्मका कामकारबाही तथा निर्वाचनसम्बन्धी विषयमा जानकारी गराउनुभयो।

तपाईको प्रतिक्रिया