बैतडीमा जिप सडकबाट खस्दा तीनको ज्यान गयो

बैतडी । बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मृतकको पहिचान खुलेको छ।

प्रहरी नायब उपरीक्षक दीपक कुमार रायलका अनुसार दुर्घटनामा सिगास गाउँपालिका–१ का २४ वर्षीय निसान्त बोहरा, २८ वर्षीय भानदेव भट्ट र डडेल्धुरा आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावलको ज्यान गएको हो।

दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएको जनाइएको छ। घाइतेहरूको उद्धार कार्य जारी रहेको र उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने क्रम चलिरहेको प्रहरीले जनाएको छ। हालसम्म एक जना महिलालाई अस्पताल पुर्‍याइएको छ।

सुर्नया गाउँपालिका–६ मोतिनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप आज बिहान करिब १० बजेतिर दुर्घटनामा परेको हो। जिप सडकबाट करिब ४ सय मिटर तल खसेको र त्यसमा करिब २० जनासम्म सवार रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

घटनास्थलमा प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया