प्रतिनिधिसभा भंग गरेर लोकतन्त्रको उपहास गरियो : केपी शर्मा ओली


काठमाडौं ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको सर्वोच्च निकाय प्रतिनिधिसभा भंग गरेर देशमा लोकतन्त्रको गम्भीर उपहास गरिएको आरोप लगाउनुभएको छ। उहाँले लोकतन्त्र र संविधानको रक्षा गर्न प्रतिनिधिसभा पुनर्स्थापना अपरिहार्य रहेको धारणा दोहोर्‍याउनुभएको हो।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्तव्य दिँदै अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनले मुलुकलाई असंवैधानिक दिशातर्फ धकेलेको बताउनुभयो। उहाँका अनुसार मुलुकलाई पुनः संवैधानिक मार्गमा फर्काउन प्रतिनिधिसभा पुनर्स्थापना हुनुको कुनै विकल्प छैन।

उहाँले संविधानको उल्लङ्घन र अपमान रोक्नकै लागि आफूहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आएको स्पष्ट पार्नुभयो। यो विषय कुनै व्यक्ति विशेषप्रतिको विरोध नभई लोकतन्त्र र संविधानप्रतिको प्रतिबद्धताको सवाल भएको उहाँको भनाइ थियो।

अध्यक्ष ओलीले संविधान संशोधन लोकतान्त्रिक प्रक्रियामार्फत गर्न सकिने भए पनि संविधान मिच्न वा कुल्चिन नपाइने स्पष्ट गर्नुभयो। निर्वाचित सरकार हटाएर असंवैधानिक संरचना स्थापना गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको उहाँको टिप्पणी थियो।

यसैबीच, राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ओलीले यसले देशमा अझै लोकतान्त्रिक अभ्यास कायम रहेको अनुभूति गराएको बताउनुभयो। निर्वाचन प्रक्रिया अघि बढिरहनु नै लोकतन्त्र पूर्ण रूपमा समाप्त नभएको संकेत भएको उहाँको धारणा थियो।

तपाईको प्रतिक्रिया