स्थानीयको माग उपेक्षा गरेर कुनै पनि विद्युत आयोजना अघि नबढाइने : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको माग र अधिकारलाई बेवास्ता गर्दै कुनै पनि विद्युत आयोजना अघि नबढाइने स्पष्ट पार्नुभएको छ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा मन्तव्य दिँदै मन्त्री घिसिङले जलविद्युत आयोजनालाई सहज रूपमा अघि बढाउन प्रभावित क्षेत्रका नागरिकले लचकता अपनाउनु आवश्यक रहेको बताउनुभयो। स्थानीय स्तरमा सहकार्य नहुँदा आयोजनाको लागत बढ्ने मात्र होइन, विद्युत निर्यातमा समेत बाधा पुग्ने र त्यसले मुलुकलाई थप समस्यामा पार्ने उहाँको भनाइ थियो।

नेपालमा करिब ५० हजार मेगावाट विद्युत उत्पादन गर्ने सम्भावना रहे पनि प्रभावित क्षेत्रका माग समयमै सम्बोधन हुन नसक्दा धेरै आयोजना अघि बढाउन कठिनाइ भइरहेको मन्त्री घिसिङले उल्लेख गर्नुभयो।

सरकारले स्थानीय जनताको अधिकार कुण्ठित हुने गरी कुनै पनि आयोजना अघि नबढाउने प्रतिबद्धता दोहोर्‍याउँदै उहाँले स्थानीय माग पूरा नहुँदा प्रसारण लाइन विस्तारजस्ता पूर्वाधार निर्माणमा समेत अवरोध देखिएको जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया