प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत सोङबीच बिदाइ भेट, नेपाल-चीन सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता


काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि चिनियाँ राजदूत सोङबीच बुधबार सिंहदरबारमा बिदाइ भेटवार्ता भएको छ।

आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका राजदूत सोङले प्रधानमन्त्री कार्कीसँग अन्तिम भेट गरेका हुन्। भेटमा नेपाल-चीन सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा छलफल भएको थियो।

सोङले चीन नेपालको घनिष्ट मित्र भएको उल्लेख गर्दै नेपालको विकास निर्माणका हरेक क्षेत्रमा सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएका थिए।

प्रधानमन्त्री कार्कीले राजदूत सोङलाई सफल कार्यकाल पूरा गरेकोमा बधाई दिँदै सफल यात्राको कामना गरेकी थिइन्। उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहनुका साथै नेपालको भूमिबाट चीनको राष्ट्रिय हितविपरीत कुनै पनि गतिविधि हुन नदिने विश्वास दिलाएकी छिन्।

प्रधानमन्त्री सचिवालयका अनुसार कार्कीले चीनबाट नेपालको विकास निर्माणमा सतत् साथ, समर्थन र सहयोग प्राप्त हुने आशा व्यक्त गरेकी छिन्।

तपाईको प्रतिक्रिया