युवा लक्षित रोजगारी कार्यक्रम अघि बढाउने श्रममन्त्रीको प्रतिबद्धता

काठमाडौं । अन्तरिम सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले युवाको रोजगारी व्यवस्थापनलाई प्रभावकारी बनाउन मन्त्रालयमै ‘जेन–जी कक्ष’ स्थापना गरेर काम गर्ने बताउनुभएको छ।

आइतबार मन्त्रालयमा जेन–जीका अगुवाहरूसँग भएको छलफलका क्रममा मन्त्री भण्डारीले जेन–जीको प्रतिनिधित्व रहने गरी विशेष सेल गठन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार उक्त सेलमार्फत निजी क्षेत्रसँग सहकार्य गरी रोजगारीका अवसर सिर्जना गर्ने तथा सीपयुक्त जनशक्ति उत्पादनका लागि तालिम केन्द्रहरूसँग समन्वय गरिनेछ।

जेन–जी कक्ष स्थापना गर्न आफूले आवश्यक निर्देशन दिइसकेको उल्लेख गर्दै मन्त्री भण्डारीले मन्त्रालयले चाँडै नै तयारी प्रक्रिया अघि बढाउने बताउनुभयो। हाल रोजगारी र सामाजिक सुरक्षा प्रमुख चुनौतीका रूपमा रहेको भन्दै यस क्षेत्रमा सुधारका लागि सक्दो प्रयास गर्ने उहाँको प्रतिबद्धता छ।

प्रधानमन्त्री सुशिला कार्कीबाट जेन–जीको भावना अनुरूप काम गर्न निर्देशन प्राप्त भएकाले सोही अनुसार नीति तथा कार्यक्रम अघि बढाइने मन्त्री भण्डारीले जानकारी दिनुभयो। युवासम्बन्धी विषय आफ्नो पहिलो प्राथमिकतामा रहने उहाँको भनाइ छ।

तपाईको प्रतिक्रिया