मंसिर २३ को आन्दोलन तयारीबारे राप्रपाको छलफल अघि बढ्दै

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक वातावरणलाई ध्यानमा राख्दै राजनीतिक दल, जेनजी पुस्ता र राजतन्त्रबीच ‘नवीन समझदारी’ आवश्यक भएको भन्दै मंसिर २३ मा आन्दोलन गर्ने घोषणा गरेको छ। सो आन्दोलनका तयारीहरू अहिले पार्टीको बैठकमार्फत अघि बढाइँदै छन्।

आन्दोलनको रणनीति तथा परिचालनका लागि राप्रपाले प्रवक्ता ज्ञानबहादुर शाहीलाई संयोजक बनाएको छ। शाहीको आह्वानमा पार्टी कार्यालयमा बसेको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनसहित अन्य पदाधिकारीहरू सहभागी भएको पार्टी स्रोतले जनाएको छ।

राप्रपाका अनुसार, जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिवेशमा राजतन्त्रसम्बन्धी विषय पुनः छलफलमा ल्याइनु पर्ने, राजनीतिक दलहरूको सहमतिबाट राजाको भूमिकाबारे स्पष्टता आवश्यक पर्ने जस्ता माग पार्टीले उठाउँदै आएको छ।

यसअघि, राप्रपाले मंसिर १३ गते अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी पाँच बुँदे ज्ञापनपत्र बुझाएको थियो। पार्टीले आगामी निर्वाचनअघि सर्वपक्षीय सहमति कायम गरी राजनीतिक अस्थिरता दोहोरिन नदिन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया