फेडरल लिडरसिप फोरम रास्वपाद्वारा गठन

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीभित्र एकता प्रक्रियामा आएका तथा आउने नेताहरूलाई व्यवस्थित रूपमा समायोजन गर्न ‘फेडरल लिडरसिप फोरम’ (संघीय नेतृत्व मञ्च) गठन गरेको छ।

रास्वपाका प्रवक्ता मनीष झाका अनुसार मंसिर १२ गते साँझ बसेको विशेष भर्चुअल बैठकले सो मञ्च गठन गर्ने सचिवालयको प्रस्ताव अनुमोदन गरेको हो।

यसअघि मंसिर ३ गते केन्द्रीय समितिले ‘उच्च संवाद समिति’लाई विभिन्‍न राजनीतिक समूहहरूसँग मुद्दागत तथा सांगठनिक सहकार्यका नयाँ विधिहरू प्रयोग गर्दै संवाद प्रक्रिया सुदृढ बनाउन निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार पार्टी सचिवालयले संघीय नेतृत्व मञ्च गठनको प्रस्ताव अघि सारेको बताइएको छ।

दलभित्र एकता प्रक्रियामा जोडिन इच्छुक नेताहरूलाई व्यवस्थापन र समायोजन गर्न यो मञ्च उपयोगी हुने रास्वपाले जनाएको छ।

यसैबीच, आजै दिउँसो २ बजे राष्ट्रिय सभागृहमा रास्वपा र विवेकशील साझा पार्टीबीच एकता घोषणा कार्यक्रम हुँदै छ।

तपाईको प्रतिक्रिया