सहकार्य र एकताको संस्कृति विकास गर्न मधेस प्रदेश प्रमुख कर्णको आह्वान

काठमाडौं । मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशमा एकता र सहकार्यको संस्कृतिलाई मजबुत बनाउन राजनीतिक दलदेखि नागरिकसम्म सबैसँग आग्रह गरेका छन्। उनले कात्तिक २८ गते विज्ञप्ति जारी गर्दै प्रदेशलाई स्थिरता र सकारात्मक दिशातर्फ लैजान सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

हाल मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवाद अदालतमा विचाराधीन छ भने सभामुखको कार्यशैलीबारे सात दलले असन्तुष्टि प्रकट गर्दै प्रस्ताव दर्ता गराएका छन्। यस्तो संवेदनशील राजनीतिक वातावरणबीच संघीय सरकारले पूर्व प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गर्दै कर्णलाई जिम्मेवारी दिएको हो। मुख्यमन्त्री नियुक्ति विवाद भने अझै समाधानको प्रतीक्षामा छ।

यिनै परिस्थितिमा कर्णले प्रदेशमा देखा परेको अनिश्चिततालाई विधिसम्मत रूपमा टुंग्याई सुशासन, शिक्षा, स्वास्थ्य तथा समृद्ध मधेस निर्माणका लागि सबै क्षेत्र र वर्ग एकजुट हुनुपर्ने धारणा व्यक्त गरे। उनले राजनीतिक दल, राजनीतिक व्यक्तित्व, सञ्चार क्षेत्र, बुद्धिजीवी, व्यवसायी, नागरिक तथा कर्मचारी सबैलाई एकताबद्ध भएर अघि बढ्न अपिल गरे।

संघीयताको सफल कार्यान्वयनका लागि मधेस प्रदेशले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले प्रदेश सरकार र नागरिकस्तरबाट संघीय व्यवस्थाको संरक्षण तथा प्रवर्धनमा विशेष सतर्कतासाथ योगदान पुर्‍याउनुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया