पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हौँ :डा. बाबुराम

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पहलमा नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरूबीच पुराना दलहरूलाई निर्वाचनमार्फत परास्त गर्ने उद्देश्यले छलफल सुरु गरिएको छ।

बिहीबार बिहान नयाँ बानेश्वरमा सम्पन्न छलफलमा नेसपा नयाँ शक्ति, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील अभियान नेपाल, विवेकशील साझा पार्टी र उज्यालो नेपाल अभियानका नेताहरू सहभागी थिए।

छलफलमा डा. भट्टराईले जेनजी आन्दोलनपछि जनतामा बढ्दो निराशालाई सम्बोधन गर्न र भ्रष्टाचारमा मुछिएका पुराना राजनीतिक नेताहरूलाई निर्वाचनबाट नै प्रतिस्पर्धामा पराजित गर्न नयाँ र वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने प्रस्ताव अघि सारेका थिए।

छलफलमा सहभागी नेता सुदन किरातीका अनुसार भट्टराईले जेनजी विद्रोहपछिका राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै “पुराना भ्रष्ट शक्तिहरू रूपान्तरण हुनुको साटो पुनः सक्रिय हुँदै छन्, त्यसैले उनीहरूलाई जनताको मतबाट पराजित गर्न वैकल्पिक शक्ति एकजुट हुनुपर्छ,” भन्ने प्रस्ताव राखेका थिए।

भट्टराईले जनतामा बढ्दै गएको असन्तुष्टि र निराशा नियन्त्रण गर्न नसकिए देश गम्भीर जोखिममा पर्न सक्ने चेतावनी पनि दिएका थिए। उनले भने,
“साना स्वार्थ र व्यक्तिगत अभिमान छोडेर सबै नयाँ शक्ति एकजुट भएर निर्वाचनमा जान जरुरी छ। जनताको विश्वास पुनःस्थापित गर्न सकिएन भने देश अझ ठूलो संकटतर्फ धकेलिन सक्छ।”

छलफलमा सहभागी नेताहरूले भट्टराईको प्रस्तावलाई सकारात्मक रूपमा लिए र निकट भविष्यमा उक्त विषयमा थप छलफल र समन्वय गर्ने सहमति जनाए।

बैठकमा डा. भट्टराईसँगै रास्वपाका कार्यवाहक उपसभापति डोलप्रसाद अर्याल, जनार्दन शर्मा, सुदन किराँती, नयाँ शक्तिकी उपाध्यक्ष मानुषी भट्टराई, र विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटालगायत नेताहरू उपस्थित थिए।

छलफलपछि नेसपा नयाँ शक्तिले जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग पनि छुट्टै संवाद गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया