कांग्रेस बैठक आज पुनः बस्दै, राजनीतिक परिस्थिति र प्रतिनिधिसभा निर्वाचन एजेन्डामा

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ। असोज २८ गतेदेखि जारी बैठक आज बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

उनका अनुसार बैठकमा आगामी राजनीतिक परिस्थिति, पार्टीको १५औँ महाधिवेशनको तयारी र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विषयमा निरन्तर छलफल भइरहेको छ।

बुधबारको बैठकमा सहमहामन्त्री फरमूल्लाह मन्सुरसहित केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, पद्मनारायण चौधरी, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, कृष्णकिशोर घिमिरे, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मदनबहादुर अमात्य, चन्द्रबहादुर के.सी., अब्दुल सत्तार, उदयशम्शेर राणा, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, जावेदा खातुन जागा, प्रा.डा. गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, माया राई, सुशीला ढकाल (आचार्य), गंगा शाही र सितादेवी देवकोटाले आफ्ना धारणा राखेका थिए।

बैठकमा उठेका सुझाव र धारणा समेट्दै पार्टी नेतृत्वले आगामी रणनीति तय गर्ने तयारी गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया