जनार्दन शर्मालाई माओवादीमा फर्कन प्रचण्डको आग्रह


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेका जनार्दन शर्मालाई पुनः माओवादी केन्द्रमा फर्कन आग्रह गरेका छन्। उनले बुधबारसम्म एकता प्रक्रियामा सहभागी हुन शर्मालाई अनुरोध गरेका हुन्।

मंगलबार सम्पन्न माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकमा संयोजक दाहालले शर्मासहितका नेताहरूसँग मिलेर अघि बढ्न चाहेको बताएका थिए।

नेता अग्निप्रसाद सापकोटाका अनुसार, “संयोजक प्रचण्डले जनार्दन शर्मालाई अझै पनि पुनर्विचार गर्न आग्रह गर्नुभएको छ। उहाँले ‘फर्कनुहोस्, हामी सँगै अघि बढ्नुपर्छ’ भन्ने सन्देश दिनुभएको हो,” उनले भने।

प्रचण्डले एमालेबाट निष्कासनमा परेका र हाल अलग अभियान चलाइरहेका भीम रावल पनि एकता प्रक्रियामा सहभागी हुने विश्वास व्यक्त गरेका छन्। त्यस्तै, उनले एकीकृत समाजवादीभित्र असन्तुष्ट रहेका झलनाथ खनाल र घनश्याम भूसालसँग समेत संवाद भइरहेको जानकारी दिएका छन्।

“सबै लोकतान्त्रिक तथा देशभक्त शक्तिहरूलाई राष्ट्रिय एकताको आन्दोलनमा सामेल हुन संयोजकले अपिल गर्नुभएको छ,” सापकोटाले बैठकमा बताए।

तर, खनाल र भूसालले भने एकता प्रक्रियामा सहभागी नहुने स्पष्ट गरेका छन्।

नेता सापकोटाका अनुसार, हालको राजनीतिक परिदृश्य एकीकृत कम्युनिस्ट आन्दोलनलाई पुनः मुख्यधारमा ल्याउने संकेत हो।

यसैबीच, माओवादी केन्द्रको बैठकले पार्टी एकताको प्रस्ताव पारित गरेको प्रवक्ता सापकोटाले जानकारी दिए। उनका अनुसार, माओवादीले एकीकृत समाजवादीसहित आठ दलसँग एकता गर्ने प्रारम्भिक सहमति गरेको र आजको बैठकले उक्त सहमति अनुमोदन गरेको हो।

तपाईको प्रतिक्रिया