एनपीएलका उत्कृष्ट तीन खेलाडीले मोटरसाइकल प्रदान गरिने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने भएको छ। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमका क्रममा नेपाल क्रिकेट संघ (क्यान) र गोल्छा ग्रुपबीच अफिसियल टु–ह्विलर पार्टनर सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौता पत्रमा क्यान सचिव पारस खड्का र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका थिए। सम्झौता अनुसार, एनपीएलमा सर्वाधिक रन बनाउने, सर्वाधिक विकेट लिने र इमर्जिङ प्लेअरलाई प्रत्येकलाई एक–एक पल्सर मोटरसाइकल प्रदान गरिने क्यान सचिव खड्काले जानकारी दिए।

सचिव खड्काले एनपीएलको दोस्रो संस्करण पूर्वाधार र व्यवस्थापनको हिसाबले पनि उत्कृष्ट हुने बताए। उनले भने, “एनपीएल व्यवस्थित ढंगले सञ्चालन हुनेछ र क्रिकेट प्रेमीलाई निराश हुन दिने छैनौं। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।”

प्रतियोगिता सुरु हुनु केही दिनअघि पत्रकार सम्मेलन गरेर सम्पूर्ण जानकारी सार्वजनिक गरिने उनले बताए।

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया