पार्टीभित्रका समस्या समाधान बिनाको एकता राजनीतिक दुर्घटना हुन सक्छ – घनश्याम भूसाल


काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले पार्टीभित्रका वर्तमान समस्या समाधान नगरी माओवादी केन्द्रसँग एकता गरिए ठूलो राजनीतिक दुर्घटना निम्त्याउने चेतावनी दिएका छन्।

बिहीबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अहिलेकै ढर्रामा एकता गरे माओवादी केन्द्र आफैं पनि विभाजित हुने अवस्था आउन सक्ने बताए। भूसालले माओवादी केन्द्रसँग हुने भनिएको एकता प्रक्रियामा आफ्नो प्रत्यक्ष सहभागिता नभएको स्पष्ट पारे।

‘एकताको प्रक्रियामा म संलग्न छैन। सुरु देखिनै मैले भनिरहेको छु— एकता केवल प्राविधिक होइन, राजनीतिक दृष्टिकोणबाट हुनुपर्छ,’ उनका भनाइ उद्धृत गर्दै एक सदस्यले जानकारी दिए।

भूसालले अहिलेको समाजका आवश्यकता र समस्यालाई सम्बोधन गर्ने नीति तथा संगठन निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे। उनका अनुसार, ‘माओवादीसँग एकता गर्न खोजिँदैछ, तर यदि त्यो सही ढंगले र वर्तमान समस्यालाई सम्बोधन गर्ने गरी भएन भने ठूलो दुर्घटना हुनसक्छ। माओवादी आफैं पनि सिंगो रहँदैन।’

उनले विगतमा स्वतन्त्रता, लोकतन्त्र र पहिचानका विषयमा आवाज उठाउँदा जनताले साथ दिएको स्मरण गर्दै अहिलेका जनअपेक्षा पूरा गर्न नसक्दा नागरिकहरू टाढिँदै गएको बताए।

‘हिजो हामीसँग जनता थिए, किनभने उनीहरूलाई स्वतन्त्रता र पहिचानका सवाल महत्वपूर्ण लाग्थे। ती कुरा अहिले स्थापित भइसकेका छन्, तर नयाँ माग र अपेक्षाहरू सम्बोधन गर्न नसक्दा जनसमर्थन कमजोर हुँदै गएको हो,’ उनले भने।

भूसालले अध्यक्षको राजनीतिक प्रतिवेदनमा राष्ट्रपतिले सरकार गठनका लागि गरेको पहल र त्यसमा पार्टीको भूमिकाबारे उल्लेख भए पनि, त्यो प्राविधिक विषय मात्रै भएको टिप्पणी गरे।

‘मुख्य कुरा त्यो होइन, यस्तो स्थिति किन आयो, जिम्मेवार को हो र हामीले समस्या समाधान गर्न किन सकेनौं भन्ने हो,’ उनले जोड दिए।

साथै, भूसालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुबैले अब नेतृत्वबाट अवकाश लिनुपर्ने सुझाव पनि दिए।

‘प्रचण्ड र माधव दुवैसँग म प्रत्यक्ष कुरा गरेको छु— अब मूल नेतृत्वले बिदा लिनुपर्छ, नयाँ संरचना बनाएर पार्टी पुनर्गठन गर्नुपर्छ। अहिलेको अवस्थाका लागि मुख्य जिम्मेवारी पनि यही नेतृत्वकै हो,’ उनले भने।

उनका अनुसार, विगतका उपलब्धिहरूको पुनरावृत्ति गर्नु भन्दा अहिलेका चुनौती र कार्यप्रदर्शनमा ध्यान दिनु समयको आवश्यकता हो।

‘हिजो के गरेका थियौं भन्ने होइन, अहिले के गर्दैछौं भन्ने नै मुख्य कुरा हो,’ भूसालले निष्कर्ष दिएका छन्।

तपाईको प्रतिक्रिया