माओवादी र नेकपा (एस)बीच एकता अन्तिम चरणमा, नयाँ नाम र चुनाव चिन्हमा सहमति नजिक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा नेकपा (माओवादी केन्द्र)सँग हुन लागेको पार्टी एकताबारे विस्तृत ब्रिफिङ गरिएको छ।

बैठकमा एकता प्रक्रियाको संयोजन जिम्मेवारी सम्हालिरहेका बेदुराम भुसालले माओवादी केन्द्रसँग भएका सहमति र प्रगतिबारे जानकारी प्रस्तुत गरेका हुन्।

भुसालको ब्रिफिङ अनुसार, प्रस्तावित पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ वा ‘नेकपा (समाजवादी)’ मध्ये एकमा सहमति हुन सक्ने देखिएको छ। त्यस्तै, आगामी निर्वाचनका लागि ‘तारा’ वा ‘कलम’ मध्ये कुनै एउटा चिन्ह चयन गर्ने विषयमा पनि छलफल अघि बढेको स्रोतले जनाएको छ।

नेतृत्व संरचनाबारे भने दुई जना शीर्ष पदाधिकारी रहने प्रस्ताव प्रस्तुत गरिएको छ, जसमा पदको नाम अध्यक्ष वा संयोजक मध्ये एक तय गर्ने तयारी भएको बताइएको छ।

भुसालले माओवादी केन्द्रसँगको एकता प्रक्रियामा महेन्द्र राय यादवलाई समेत समावेश गर्ने सम्भावनाबारे छलफल भइरहेको जानकारी बैठकमा दिएका सहभागी नेताले बताएका छन्।

तपाईको प्रतिक्रिया