वाग्मती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता बस्ने तयारी

मकवानपुर — लामो समयदेखि स्थगित वाग्मती प्रदेशसभाको बैठक कात्तिक महिनाको तेस्रो सातातिर बस्ने तयारी भएको छ।

प्रदेशसभा उपसभामुख अप्सरा चापागाईंका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने विषयमा छलफल भइरहेको छ। उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग बैठकको मिति तय गर्न परामर्श चलिरहेको बताइन्।

“छठपछि प्रदेशसभा बैठक बोलाउने तयारी भइरहेको छ। नेताहरूसँगको परामर्शपछि मिति तय हुनेछ,” उपसभामुख चापागाईंले भनिन्।

कात्तिकको तेस्रो साता बैठक बस्ने गरी छलफल अघि बढाइएको उनले जानकारी दिइन्।

‘जेनजी’ प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेको प्रदेशसभा भवन मर्मतको क्रममा रहेकाले अब बैठक हेटौँडा उपमहानगरपालिका–२ मा रहेको मुख्यमन्त्री कार्यालयको सभाहलमा सञ्चालन गर्ने तयारी भइरहेको छ।

प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार अस्थायी रूपमा सो सभाहलमा बैठक बस्ने व्यवस्था मिलाइँदै छ।

“हाल भवनमा मर्मत, सरसफाइ, रङरोगन तथा विद्युतीकरणको काम तीव्र गतिमा भइरहेको छ,” सचिव पौडेलले बताए।

उनका अनुसार मर्मत कार्य सकेर छिट्टै बैठक सञ्चालन गर्ने तयारी भइरहेको छ। भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा सहरी विकास तथा भवन कार्यालयले सभाहलको पुनःसंरचना र सरसफाइको काम अगाडि बढाइरहेको छ।

बैठकका लागि आवश्यक फर्निचर र प्राविधिक सामग्री अस्थायी रूपमा वा भाडामा लिएर व्यवस्थापन गरिने तयारी पनि भइरहेको सचिव पौडेलले बताए। उनले आगलागीबाट जोगिएका केही ल्यापटप र डेस्कटप कम्प्युटर प्रयोग गरेर सचिवालयको काम अघि बढाइएको जानकारी दिए।

तपाईको प्रतिक्रिया