ओलीले नेतृत्व छोडे एमालेसँग एकता सम्भव : प्रचण्ड


धादिङ —नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले ले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्ने स्पष्ट अभिव्यक्ति दिएका छन्।

धादिङको बेनिघाट रोराङमा आयोजित एक कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी अब निर्वाचन केन्द्रित नीति लिएर अघि बढ्ने जानकारी दिए। उनले भने, “अबको माओवादीको लाइन भनेको निर्वाचन हो। ओलीको नेतृत्वमा एमालेसँग एकता सम्भव छैन, तर उहाँको नेतृत्व नभए नयाँ सम्भावनाको ढोका खुल्न सक्छ।”

उनले तिहारपछि समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढाउने तयारी रहेको पनि खुलासा गरे। कार्यक्रममा सहभागी युवा तथा नेताकार्यकर्ताहरूसँगको छलफलमा प्रचण्डले नयाँ पुस्ताले माओवादी विचारधारालाई पुनः स्वीकार गर्न थालेको दाबी गरे।

उनका अनुसार, “अहिले मेरो पुस्ता मात्र होइन, नयाँ जेनेरेशन (पुस्ता) का युवाहरूसँग पनि छलफल भइरहेको छ। ती युवाहरूले माओवादी विचार सही रहेछ भन्ने बुझ्न थालेका छन्।”

कार्यक्रमको अन्त्यतिर अध्यक्ष प्रचण्डले पार्टी नेताकार्यकर्तालाई आगामी निर्वाचनका लागि योजनाबद्ध ढंगले तयारी थाल्न निर्देशनसमेत दिए।

तपाईको प्रतिक्रिया