फागुन २१ को निर्वाचनअघि कांग्रेसको महाधिवेशन सम्पन्न गर्नुपर्छ:नेविसंघ

काठमाडौं, — नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअघि पार्टीको नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने माग गरेको छ।

नेविसंघले असोज २५ गते सम्पन्न केन्द्रीय समितिको बैठकमा यस्तो निर्णय गरेको हो। कांग्रेसले पछिल्लो पटक २०७८ मंसिरमा १४औं महाधिवेशन गरेको थियो। त्यस अनुसार, नियमित महाधिवेशन मंसिर महिनाभित्रै सम्पन्न गर्नुपर्ने प्रावधान रहेको छ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “वर्तमान सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको घोषणा गरिसकेको छ। यस्तो अवस्थामा पार्टीभित्र चलिरहेको रूपान्तरणसम्बन्धी बहसलाई संघले सकारात्मक रूपमा लिएको छ। निर्वाचनलाई ध्यानमा राख्दै पार्टीले निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गरी अघि बढ्नु उचित हुने देखिन्छ,” विज्ञप्तिमा उल्लेख छ।

साथै, नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि छानबिन र आवश्यक कारबाही गर्नुपर्ने माग समेत गरेको छ। नेविसंघका अनुसार, जेनजी आन्दोलनमा ‘घुसपैठ’ र हिंसा भड्काउने खालका अभिव्यक्तिहरू मेयर शाहलगायतबाट आएको भन्दै त्यसबारे निष्पक्ष छानबिन आवश्यक भएको जनाएको छ।

तपाईको प्रतिक्रिया