विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सरकारको प्रमुख प्राथमिकतामा :गृहमन्त्री अर्याल

काठमाडौं,। गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको स्पष्ट गरेका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल भौगोलिक दृष्टिले सुन्दर भए पनि प्राकृतिक र मानवसिर्जित विपद्‌को दृष्टिकोणले उच्च जोखिममा रहेको उल्लेख गरे।

उनका अनुसार नेपालमा भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी र सुक्खाजस्ता प्राकृतिक तथा मानवजन्य विपद्को सम्भावना रहँदै आएको छ। यस्ता विपद्‌हरूलाई केवल प्राकृतिक घटना नठानी, सामाजिक, संरचनात्मक र नीतिगत पक्षसँग पनि जोडेर बुझ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

गृहमन्त्री अर्यालले संविधान, राष्ट्रिय नीति तथा प्रचलित कानुनहरूले विपद् व्यवस्थापनसम्बन्धी कार्यहरू सबै तह र निकायको समन्वय, सहकार्य र सहभागितामार्फत अघि बढाउनुपर्ने व्यवस्था गरेको जानकारी दिए। केन्द्रदेखि स्थानीय तहसम्म विपद् न्यूनीकरणमा सक्रिय संयन्त्रहरू क्रियाशील रहेको र बाढी तथा डुबानजस्ता जोखिमहरूको समयमै जानकारी दिन ‘अर्ली वार्निङ सिस्टम’को विस्तार गरिएकोसमेत उनले उल्लेख गरे।

उनले विपद् व्यवस्थापनमा सुरक्षा निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र, सञ्चार माध्यम र नागरिक समाजको सहकार्यले उल्लेखनीय परिणाम दिन थालेको बताए।

गृहमन्त्री अर्यालले स्थानीय समुदायको सक्रिय सहभागिता विना विपद् न्यूनीकरण सम्भव नहुने धारणा व्यक्त गर्दै विद्यालयदेखि स्थानीय तहसम्म सचेतना र क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालनमा ल्याइएको जानकारी दिए।

उनले नीति निर्माणदेखि कार्यान्वयनसम्म, सर्वसाधारणदेखि प्राविधिक विज्ञसम्मको सहकार्य आवश्यक भएको स्पष्ट गर्दै, विपद् न्यूनीकरण सरकार मात्र होइन, सम्पूर्ण राष्ट्रको साझा जिम्मेवारी भएको उल्लेख गरे।

तपाईको प्रतिक्रिया