तीन महिनाभित्र परीक्षाफल ननिकाले अनुदान रोक्का गर्ने : शिक्षा मन्त्री महावीर पुन


काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले तीन महिनाभित्र परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्ने चेतावनी दिएका छन्।

मन्त्री पुनले मंगलबार सामाजिक सञ्जालमार्फत एक सार्वजनिक सन्देश जारी गर्दै भने, “अबदेखि कुनै पनि विश्वविद्यालयले परीक्षा लिएपछि अधिकतम तीन महिनाभित्र परीक्षाफल सार्वजनिक गर्नुपर्नेछ। यदि समयमै नतिजा प्रकाशित भएन भने, त्यस विश्वविद्यालयको सरकारी अनुदान रोक्का गरिनेछ।”

उनका अनुसार केही विश्वविद्यालयहरूले परीक्षाफल प्रकाशित गर्न ८ महिनादेखि एक वर्षसम्म ढिलाइ गर्ने गरेका छन्, जसले विद्यार्थीको करिअरमा ठूलो असर पार्छ।

“विद्यार्थीका लागि यो अपूरणीय क्षति हो,” मन्त्री पुनले लेखेका छन्, “राष्ट्रिय परीक्षा बोर्डले ५ लाखभन्दा बढी कक्षा १२ का विद्यार्थीको नतिजा ३ महिनामै निकाल्न सक्छ भने विश्वविद्यालयहरूले पनि निकाल्नैपर्छ।”

पुनले मन्त्रालयमा काम छरितो बनाउन आज तीन वटा साना तर प्रभावकारी निर्देशन दिएको जानकारी पनि दिएका छन्। तीमध्ये सबैभन्दा प्रमुख निर्देशन यही परीक्षाफलसम्बन्धी रहेको छ।

तपाईको प्रतिक्रिया