पत्रकारको पेसागत र भौतिक सुरक्षाप्रति गम्भीर छुः सञ्चारमन्त्री खरेल


काठमाडौं।सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारहरूको पेसागत तथा भौतिक सुरक्षालाई सरकारले गम्भीर रूपमा लिएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा आयोजित हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले सुरक्षा मामिलामा गृह मन्त्रालयसहित सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्ने प्रतिवद्धता जनाउनुभयो ।

मन्त्री खरेलले तीनकुनेमा गत चैत १५ गते भएको प्रदर्शनको समाचार संकलनका क्रममा निधन भएका पत्रकार सुरेश रजकको घटनाको निष्पक्ष छानबिन हुने विश्वास दिलाउनुभयो । उहाँले आन्दोलन तथा प्रदर्शनका क्रममा मृत्यु वा घाइते भएका अन्य पत्रकारहरूको घटनाबारे पनि सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो ।

यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार दिवंगत पत्रकार सुरेश रजकलाई मरणोपरान्त प्रदान गरिएको हो । मन्त्री खरेलले पुरस्कारमार्फत स्व. रजकसहित दिवंगत पत्रकार हेम भण्डारी र सुनिल सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो सम्मानले शोकसन्तप्त परिवारलाई धैर्यता र साहस दिन सघाउँछ। मन्त्रालयले रजकको न्यायका लागि पूरा पहल गर्नेछ। गृह मन्त्रालयसँग छलफल गर्छु, प्रधानमन्त्रीसमक्ष पनि यो विषय उठाउँछु।”

पत्रकारिता सधैं जोखिमयुक्त पेशा भएको उल्लेख गर्दै मन्त्री खरेलले सरकार परिवर्तन होस् वा प्राकृतिक विपद्, पत्रकारहरू सधैं जनताका लागि कलम चलाइरहेका हुन्छन् भन्ने बताउनुभयो।

उहाँले सार्वजनिक सेवा प्रसारण नेपाल पिएसबी लाई व्यावसायिक, आत्मनिर्भर र स्वतन्त्र बनाउनु आवश्यक रहेकोमा पनि जोड दिनुभयो। “रेडियो नेपाल र नेपाल टेलिभिजन गाभेर पिएसबी भएको भन्नेमा ढुक्क नहुनुहोस्, हामी यसलाई जिम्मेवार र पारदर्शी बनाउन प्रतिवद्ध छौं,” मन्त्री खरेलले भन्नुभयो।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले रजकको परिवारको माग अनुसार न्याय सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। मृतक रजकको परिवारले दोषी पहिचान गरी कानुनी कारबाहीको माग गरेका थिए।

सार्वजनिक प्रशारण सेवा नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले पिएसबी प्रणालीको स्पष्ट परिभाषा आवश्यक रहेको बताउँदै यसको सफल कार्यान्वयनका लागि सबै पक्षको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष सुरेन्द्र पौडेलले पिएसबी अवधारणाअनुसार पूर्ण सञ्चालन र बजेट सुनिश्चित गर्न माग गर्नुभयो। बजेटको अभावले नेपाल टेलिभिजनका पाँचवटै च्यानलको नियमित सञ्चालनमा समस्या देखिएको उहाँको भनाइ थियो।

स्व. हेम भण्डारी र सुनिल सिंहको स्मृतिमा सन् २०६४ सालदेखि सुरु गरिएको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार प्रत्येक वर्ष असोज ७ गते प्रदान गरिँदै आएको छ। २०६३ सालको असोज ७ गते ताप्लेजुङको घुन्सामा समाचार संकलन गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा उनीहरूको निधन भएको थियो।

तपाईको प्रतिक्रिया