‘मल अभाव अन्त्य गर्न गम्भीर छु’ : कृषिमन्त्री परियार

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री मदन परियारले देशभर भइरहेकाे मल अभावको समस्यालाई समाधान गर्ने प्रतिवद्धता जनाएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार मन्त्री पदको शपथ लिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री परियारले कृषि उत्पादन वृद्धि गर्न मलको सुनिश्चित आपूर्ति अपरिहार्य रहेको बताए।

‘मल अभावले कृषकहरू मर्कामा छन्। म स्वयं यस विषयमा गहिरो अध्ययन गर्छु, र समस्या कहाँ छ भनेर पहिचान गरेर समाधानतर्फ लाग्छु,’ मन्त्री परियारले भने, ‘पत्रपत्रिकामा पटक–पटक मल आयातको खबर आउँछ, तर किसानलाई समयमै मल किन पुग्दैन भन्ने कुरा गम्भीर विषय हो। अब यसलाई मैले नजिकबाट बुझ्नेछु।’

मन्त्री परियारले मल आपूर्तिमा देखिएका अवरोधहरूको छानबिन गरेर प्रणालीमा सुधार ल्याउने स्पष्ट संकेत दिएका छन्। साथै, कृषकहरूको हितलाई प्राथमिकतामा राखेर मन्त्रालयको काम अघि बढाउने जानकारी पनि दिए।

उनका अनुसार, वर्तमान सरकारको प्राथमिकता निर्वाचन सम्पन्न गर्नु, सुशासन कायम गर्नु र बेथिति नियन्त्रण गर्नु हो। उनले आफूले पनि सोही दिशामा जिम्मेवारीपूर्वक काम गर्ने बताए।

तपाईको प्रतिक्रिया