सभापति देउवामाथि भएको आक्रमण अमानवीय र निन्दनीय : नेपाली कांग्रेस


काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवामाथि भएको आक्रमणलाई अमानवीय, बर्बरतापूर्ण र निन्दनीय भनेको छ।

भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासभित्रै रहेका देउवा दम्पत्तिमाथि प्रदर्शनकारीले कुटपिट गरेका थिए। सो घटनासम्बन्धी भिडिओहरू सामाजिक सञ्जालमा सार्वजनिक भइसकेका छन्। उनीहरू हाल पनि उपचाररत छन्।

आइतबार उपसभापति पूर्णबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “लोकतन्त्रका लागि जीवनभर संघर्ष गरेका सभापति देउवा र पार्टीकी नेतृ आरजु राणा देउवामाथिको भौतिक आक्रमण निन्दनीय र भर्त्सनायोग्य छ। उनीहरूलाई शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दछौं।”

यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आक्रमणसम्बन्धी कुनै धारणा नबोलेकामा आलोचना भएको थियो। त्यसको केही दिनपछि उपसभापति खड्काले उक्त विज्ञप्तिमार्फत पार्टीको धारणा सार्वजनिक गरेका हुन्।

विज्ञप्तिमा हाल देशमा भइरहेका राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा स्पष्ट गर्दै खड्काले प्रतिनिधिसभा विघटनलाई पूर्णतः अलोकतान्त्रिक र असंवैधानिक बताएका छन्।

उनले भने, “यो निर्णय संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी राज्य संरचनाको भावनामाथि कुठाराघात हो। साथै, सर्वोच्च अदालतको अघिल्लो फैसला विपरीत पनि हो।”

उनले कांग्रेसले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गरिसकेको र आगामी दिनमा समेत संविधान र लोकतन्त्रको रक्षार्थ दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएका छन्।

खड्काले ‘जेनजी’ आन्दोलनका नाममा सार्वजनिक र निजी सम्पत्तिमा भएको तोडफोड र आगजनी दुःखद भएको बताए।

उनका अनुसार, “सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रदेश सभा भवन, निजी आवास, मिडिया हाउस, व्यवसायिक प्रतिष्ठान र वित्तीय संस्थामा तोडफोड हुँदा खर्बौंको क्षति भएको छ। आन्दोलनमा अवाञ्छित घुसपैठका कारण यो स्थिति आएको हो।”

कांग्रेसले सम्पूर्ण घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै, राज्यले क्षतिको यथार्थ मूल्यांकन प्रक्रिया तुरुन्त सुरु गर्नुपर्ने स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया