नेपालमा लगानीका लागि कुनै बाधा छैन : प्रधानमन्त्री ओली

काठमाडौं, – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा व्यवसाय गर्न कुनै बाधा नरहेको दाबी गरेका छन्।

मंगलबार राजधानीको भृकुटीमण्डपमा आयोजित १७औं नाडा अटो शोको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा पूर्वाधार निर्माण तथा नीतिगत सुधारमार्फत लगानीका लागि अनुकूल वातावरण तयार गरिएको बताए।

“हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरू तथा आवश्यक पूर्वाधार विकास गरिसकेका छौं। अब नेपालमा लगानी गर्न वा काम गर्न कुनै बाधा छैन,” प्रधानमन्त्री ओलीले उद्घाटन समारोहमा भने।

उनले वैज्ञानिक खोज, अध्ययन र प्रविधिमा भइरहेको विश्वव्यापी विकासलाई नेपालले पनि आत्मसात् गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए। विशेषतः युवा पुस्ताले नयाँ सोचसहित काम गर्न थालेको र सरकार उनीहरूको साथमा रहेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले उत्तर र दक्षिणतर्फ नयाँ मार्गहरूको निर्माण, अन्तर्राष्ट्रिय विमानस्थलहरूको थप, हरित ऊर्जा तथा मिथेन ग्यास उत्पादन, र धौवादी फलाम प्रयोगजस्ता उदाहरण प्रस्तुत गर्दै देश समृद्धितर्फ अग्रसर भइरहेको बताए।

“देशका लागि योगदान गर्नुस्, हामी तपाईंहरूसँग छौं,” भन्दै प्रधानमन्त्रीले लगानीकर्ताहरूलाई ढुक्क भएर अगाडि बढ्न आह्वान गरे।

तपाईको प्रतिक्रिया