उपसभामुख हटाउने प्रयास गलत, विरोधमा उत्रिन्छौं – प्रचण्ड

काठमाडौं, – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयासको कडा विरोध गर्ने बताएका छन्।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले उपसभामुख हटाउन खोज्नु कांग्रेस–एमालेको गल्ती भएको बताए। उनका अनुसार, उपसभामुखमाथि गरिएको हटाउने प्रयास अनाहक, अन्यायपूर्ण र पूर्वाग्रही छ।

“उपसभामुख हटाउने तयारी पहिले देखिकै हो। तर यो गलत कार्य हो। उहाँ आदिवासी जनजाति समुदायकी महिला हुनुहुन्छ, सामाजिक सेवामा सक्रिय हुनुहुन्छ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्व हुनुहुन्छ। यस्ता व्यक्तिलाई जबरजस्ती हटाउने प्रयासको हामी विरोध गर्छौं,” प्रचण्डले भने।

उनले वर्तमान सरकार गठन भएदेखि गल्तीहरू मात्रै भएको र ठोस र सकारात्मक काम देखिएको नभएको दाबी गरे। साथै, उपसभामुख रानामाथि अघिल्लो पटक लगाइएको आरोप समेत कपोकल्पित रहेको टिप्पणी गरे।

तपाईको प्रतिक्रिया