सन्तानलाई आमाको नामबाट नागरिकता, प्रक्रिया सरल बनाइँदै

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाका आधारमा सन्तानलाई नागरिकता दिन मिल्ने व्यवस्था समावेश गरी नागरिकता कानुन संशोधन प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा प्रस्तुत नेपाल नागरिकता विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलका क्रममा गृहमन्त्री लेखकले संविधानको सीमाभित्र रहेर महिला तथा सन्तानका हक अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित कानुन संशोधन थालिएको स्पष्ट पारे।

“सन्तानको पहिलो संरक्षक आमा नै हुन्,” मन्त्री लेखकले भने, “यदि आमाले ‘यो मेरो सन्तान हो, बाबुको पत्ता छैन वा ल्याउन सक्दिन’ भन्ने घोषणा गरिन् भने, सो अवस्थामा आमाको स्वघोषणाका आधारमा सन्तानलाई नागरिकता दिने प्रावधान विधेयकमा प्रस्ताव गरिएको हो।”

उनले यो व्यवस्था महिलाको मात्रै हैसियतलाई स्थापित गर्ने होइन, संविधानले सुनिश्चित गरेका महिला तथा सन्तानका हकहरूलाई कार्यान्वयन गर्ने प्रयास भएको बताए।

गृहमन्त्री लेखकका अनुसार, यदि आमाको स्वघोषणा गलत प्रमाणित भएमा नागरिकता फिर्ता गर्न सकिने र त्यससम्बन्धी सजायको व्यवस्था समेत विधेयकमा समावेश गरिएको छ।

बाबुको सहयोग नभएको अवस्थामा पनि नागरिकता मिल्ने

गृहमन्त्री लेखकले अंगीकृत नागरिकता सम्बन्धी व्यवस्थामा बाबुको आधारमा विदेशी नागरिकता नलिएको व्यक्तिले मात्र स्वघोषणा गर्न पाउने व्यवस्था थियो भने, अब सो स्थितिमा आमाले पनि स्वतः घोषणा गर्नसक्ने प्रावधान थपिएको बताए।

“बाबुको मृत्यु भएको, नागरिकता दिन असहयोग गरेको वा अर्को विवाह गरेर अलग भएको अवस्थामा सन्तानले आमाको नामबाट नागरिकता पाउने व्यवस्था विधेयकमा समेटिएको छ,” मन्त्री लेखकले स्पष्ट पारे, “अब आमाको नामबाट नागरिकता लिने प्रक्रिया सरल बनाइएको छ।”

उनका अनुसार यस विषयमा सर्वोच्च अदालतबाट सरकारलाई निर्देशकात्मक आदेश आइसकेको हुँदा विधेयक अगाडि बढाइएको हो।

तपाईको प्रतिक्रिया