संघीयता र लोकतन्त्रको रक्षा साझा जिम्मेवारी हो : नारायणकाजी श्रेष्ठ

गोरखा, — पूर्वउपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको रक्षा सबै नेपालीको साझा जिम्मेवारी भएको बताएका छन्।

पालुङ्टार नगरपालिका–५, ठाँटीपोखरीमा आयोजित ३१औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा बोल्दै श्रेष्ठले प्राप्त लोकतान्त्रिक व्यवस्थामाथि पछिल्लो समय प्रतिगमनको खतरा देखिएको भन्दै सचेत रहन आग्रह गरे।

“यो व्यवस्था हजारौं शहीद र आन्दोलनकारीहरूको बलिदानबाट आएको हो,” श्रेष्ठले भने, “अहिले यसलाई कमजोर पार्ने, अधिकार खोस्ने र शहीद, बेपत्ता तथा घाइते योद्धालाई अपमानित गर्ने षड्यन्त्र भइरहेका छन्।”

उनले संविधानमा सुनिश्चित गरिएको समानुपातिक समावेशीकरणलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै स्थानीय, प्रदेश र संघीय तहमा महिला, आदिवासी जनजाति, दलित, मधेसी, थारू, मुस्लिम लगायत समुदायको प्रतिनिधित्व अझ सशक्त रूपमा सुनिश्चित हुनुपर्ने बताए।

श्रेष्ठले स्वायत्त, संरक्षित र विशेष क्षेत्रको संवैधानिक प्रावधान व्यवहारमा कार्यान्वयन गरी सीमान्तकृत समुदायको पहिचान, अधिकार र विकासमा योगदान दिनुपर्नेमा पनि जोड दिए। साथै, भाषा र संस्कृतिको संरक्षणका लागि राज्य र समुदाय दुवै सक्रिय हुनुपर्ने धारणा राखे।

राजनीतिक स्थिरता र सुशासन अपरिहार्य रहेको उल्लेख गर्दै उनले शासन प्रणालीमा सुधार आवश्यक भएको बताए। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, पारदर्शी शासन र भ्रष्टाचार नियन्त्रणको खाँचो औंल्याए।

श्रेष्ठले आदिवासी जनजाति तथा सीमान्तकृत समुदायहरूलाई बाँकी अधिकारका लागि एकताबद्ध भई संघर्ष गर्न अपिलसमेत गरे।

तपाईको प्रतिक्रिया