बाबुराम भट्टराईले कारागारमा भेटे रवि लामिछाने, न्यायिक हिरासतप्रति आपत्ति जनाए

काठमाडौं, — पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले बिहीबार भैरहवास्थित कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन्। लुम्बिनी प्रदेशस्तरीय दुईदिने विस्तारित बैठकमा भाग लिन जाने क्रममा भएको भेटबारे भट्टराईको सचिवालयले जानकारी दिएको छ।

भेटका क्रममा भट्टराईले लामिछानेलाई न्यायिक हिरासतमा राखेर अन्याय भइरहेको बताउँदै यस्तो निर्णयप्रति असहमति जनाएका छन्। उनले भने, “उहाँमाथि फैसला भइसकेको छैन र अहिले उहाँ न्यायिक हिरासतमा हुनुहुन्छ। अदालतले व्याख्या गरिसकेको कुरा म टिप्पणी गर्न चाहन्नँ। तर, कोही मान्छे भाग्छ वा थप अपराध गर्छ भन्ने शंका भएमा मात्रै न्यायिक हिरासत उचित हुन्छ।”

भट्टराईले थपे, “जनताको प्रतिनिधि रहेका व्यक्तिलाई जमानतमा राखेर मुद्दा सामना गर्ने व्यवस्था हुनु पर्ने हो। यसबारे किन ध्यान नदिइयो भन्ने मेरो प्रश्न छ।”

उनले जनप्रतिनिधिलाई थुनामा राख्ने सट्टा पदमुक्त गरेर नयाँ चुनाव गर्ने प्रस्ताव पहिले नै राखिसकेको पनि बताए। साथै, लामिछानेलाई पत्रपत्रिकाबाट वञ्चित गरिएको आरोप पनि उनले लगाए।

तपाईको प्रतिक्रिया