संसदीय दल नेता परिवर्तनको संख्या छैन: नेता शेखर कोइराला

फाइल

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको संसदीय दलको नेतामा परिवर्तनको सम्भावना हाल नदेखिएको बताएका छन्।

बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसदीय दलको नेतृत्व परिवर्तनका लागि आवश्यक संख्या नपुगेको स्पष्ट पारे। “संसदीय दल नेता फेर्न संख्या चाहिन्छ, त्यो नहुँदैमा नेतृत्व परिवर्तन हुँदैन,” उनले भने, “सभापति देउवाजीले पनि यो कुरा बुझेका छन्, त्यसैले चिन्ता लिनुपर्ने अवस्था छैन।”

नेता कोइरालाले अहिलेको कांग्रेस–एमाले गठबन्धनमा आधारित संघीय सरकार प्रभावकारी रूपमा अगाडि नबढेको धारणा राखे। “यो सरकार २०८४ सालसम्म जाओस् भन्ने हाम्रो चाहना हो,” उनले भने, “तर सरकार चलाउने शैली प्रभावकारी हुनुपर्छ, अहिलेको अवस्था सन्तोषजनक छैन।”

उनले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति कार्यान्वयनमा लैजान आवश्यक रहेकोमा जोड दिए।

हालै कोइरालाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग गरेको भेटघाटले कांग्रेसभित्र तरंग सिर्जना गरेको थियो। भेटपछि पार्टीभित्र केही पूर्वपदाधिकारीहरूले प्रश्न उठाएपछि सभापति शेरबहादुर देउवाले कोइरालालाई ‘सक्ने हो भने संसदीय दल नेता परिवर्तन गरेर देखाउन’ चुनौती दिएका थिए।

२०७९ पुस ६ गते सम्पन्न संसदीय दलको निर्वाचनमा देउवा ६४ मत ल्याएर विजयी भएका थिए भने गगन थापाले २५ मत पाएका थिए। त्यसयता मत संख्या उल्लेखनीय रूपमा परिवर्तन नभएको हुँदा नेतृत्वमा फेरबदलको सम्भावना न्यून देखिन्छ।

तपाईको प्रतिक्रिया